लकडाउनको दाउ छोप्दै व्यापारी, कागतीको मूल्य प्रतिगोटा ३० रुपैयाँ !

काठमाडौं, २१ चैत । सरकारले गरेको ‘लकडाउन’ केहि खुकुलो देखिएपनि तरकारी, फलफूललगायका आवश्यक खाद्य सामग्रीको मूल्य ह्वात्तै बढेको छ ।

महासंकटको बेला व्यापारीले यही हो मौका कमाउनु पर्छ भने झैं गरी मनपरी तरिकाले उपभोक्ता ठगिरहेका छन् । लकडाउनको समयमा सबैभन्दा महंगो कागती देखिएको छ । बजार मूल्य पाँचमा पाइने एउटा कागतीको मूल्य बढेर ३० रुपैयाँ पुगेको छ ।

अहिले कागतीको माग बढि हुने गरेकाले बजारमा पाउनै कठिन छ, पाएपनि महँगो रहेकाले ३० रुपैयाँमा बेच्नु परेको व्यापारीको दाबी छ ।

आफैले ४ सय रुपैयाँ हालेर कागती लैजानुपर्छ। कसरी १० रुपैयाँ गोटा बेच्नु। आफूले पनि थोरै नाफा खानै पर्‍यो माछापोखरीमा तरकारीको व्यापर गर्दै आएका दिपक घिमिरेले भने ।

कागती स्वास्थ्यका लागि पनि फइदाजनक छ। कोरोना भाइरस संक्रमणबाट जोगिन डाक्टरहरुले तातो पानीमा कागती हालेर खानु भनेपछि कागतीको मागसँगै मूल्य वृद्धि भएको हुनसक्ने व्यापारीको भनाई छ।

बजारमा अहिले कृत्रिम अभाव सिर्जना गर्ने, सामान मूल्यभन्दा बढीमा बिक्री गर्ने गरिरहेको पाइन्छ । तरकारी र फलफूल ‘लकडाउन’ पहिलेभन्दा अहिले दोब्बरदेखि तेब्बर मूल्यमा बिक्री हुँदासमेत अनुगमन हुन नसकेको सर्वसाधारणहरुको भनाई छ ।

अन्य तरकारीहरुका बिहिवार कालीमाटी बजारको मूल्य सूची अनुसार गोलभेंडा प्रतिकेजी खुद्रमुल्य ७० रुपैयाँ, रातो आलु प्रतिकेजी ६०, सुकेको प्याज प्रतिकेजी ८०, लसुन प्रतिकेजी ४००, बन्दा प्रतिकेजी ५०, काउली प्रतिकेजी ५०, मुला ४०, मटरकोसा प्रतिकेजी ७० रुपैयाँ रहेको छ ।

रायो, चमसुर, पालुंगो, मेथीको साग ४० रुपैयाँ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here