१४ शीर्षकको लागि छुट्टयाएको बजेट रोक्का, कुन-कुन रोकिए ?

काठमाडौं, २१ चैत । सरकारले १४ शीर्षकका कार्यक्रमलाई छुट्टयाएको बजेट रोक्का गरेको छ ।

कोरोना भाइरसले आर्थिक गतिविधि प्रभावित भइ राजस्व संकलनमा असर पुगेको भन्दै छुट्याइएको रकम खर्च नगर्न मातहतका मन्त्रालयललाई निर्देशन दिएको छ।

देशभर विषम परिस्थिति उत्पन्न भएको भन्दै अर्थमन्त्रालयले दायित्व सिर्जना हुन तथा बोलपत्र आह्वान हुन बाँकी बजेट रोक्का गरेको जनाएको छ ।

अर्थसचिव शिशिरकुमार ढुंगानाको हस्ताक्षर भएको पत्रमा विभिन्न शीर्षकमा विनियोजित बजेटलाइ कोरोना भाइरस रोग नियन्त्रणका लागि प्राथमिकता प्राप्त क्षेत्रमा खर्च गर्न सकिने गरी स्रोत व्यवस्थापन गर्नुृपर्ने भएकाले १४ कार्यक्रमको बजेटलाई स्थगीत गरिएको जनाइएको छ ।

जसअनुसार बजेट दिइए पनि खर्च पक्का नभएका धेरैजसो सात प्रकारका चालू र सात प्रकारका पुँजीगत खर्चका बजेट रोकिएका छन् । यी रोक्का भएका शीर्षकका बजेटका रकमान्तर गरी स्रोत व्यवस्थापन गरिनेछ ।

रोक्का भएका बजेटमा सेवा र परामर्श खर्च, कर्मचारी तालिम खर्च, कार्यक्रम खर्च, सीप विकास तथा जनचेतना तालिम तथा गोष्ठीसम्बन्धी खर्च, विविध कार्यक्रम खर्च, अनुगमन मूल्यांकन (अति आवश्यक बाहेकको) खर्च, भैपरी आउने चालु खर्च छन् ।

यसैगरी खर्च हुन बाँकी रहेका सवारी साधन, मेसिनरी तथा औजार, फर्निचर तथा फिक्चर्स, कम्प्युटर सफ्टवेयर निर्माण तथा खरिद खर्च एवं अन्य बौद्धिक सम्पत्ति प्राप्ति खर्च, पुँजीगत अनुसन्धान तथा परामर्श, जग्गा प्राप्ति र भैपरी आउने पुँजीगत खर्च पनि रोक्का भएको छ ।

अर्थमन्त्रालयले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ को दफा २१ (१) मा रहेको व्यवस्था बमोजिम मन्त्रालय तथा निकायको स्वीकृतको बजेट खर्च नगर्न आग्रह अनुरोध गरेको छ।

विनियोजन ऐन २०७६ बमोजिम चालु आर्थिक वर्षको बजेटमा समावेदश गरिएका कतिपय कायक्रम हाललाई स्थगित गरी विभिन्न निकायहरुमा विनियोजित बजेटलाई आवश्यकता अनुसार कोरोना भाइरस रोकथाम, नियन्त्रणलगायतका प्राथमिकता प्राप्त अन्य क्षेत्रमा समेत उपायोग गरी स्रोत व्यवस्थापन गर्न लागिएकोले यसो गर्नु परेको अर्थमन्त्रालयको पत्रमा भनिएको छ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सार्वजनिक गतिविधि र आवागमनलाई नियन्त्रण गर्न विभिन्न उपायहरू अवलम्बन गरिएको छ । मन्त्रालयले यसबाट आर्थिक गतिविधि प्रभावित भएकोले राजस्व संकलनमा समेत असर परेको उल्लेख गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here