२४ घण्टामा नयाँ संक्रमित देखिएन, खरिपाटी क्वारेन्टाइनका ९४ जनाको रिपोर्ट नेगेटिभ

काठमाडौं, २३ चैत । कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा गरिएको ८८ जनाको नमूना परीक्षणबाट कुनै नयाँ संक्रमण भेटिएको छैन।

स्वास्थ्य मन्त्रालयमा आइतबार आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले उक्त जानाकारी दिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित कोरोना ब्रिफिङका क्रममा हालसम्म १ हजार ५ सय २९ जनाको नमूना परीक्षण भएको जनाएको छ।

यसअघि शनिबारसम्म कोरोनाको आशंकामा १ हजार ४ सय ४१ जनाको नमूना परीक्षण भएको थियो।

कोरोनाको आशंकामा भक्तपुरको खरिपाटीमा क्वारेन्टाइनमा रहेका ९४ जना सबैको नमूना नेगेटिभ आएको मन्त्रालयका प्रवक्ता डा विकास देवकाटाले बताए । कोरोना प्रभावित देशबाट आएका ९४ जना नागरिकलाई क्वारेन्टाइनका लागि खरिपाटीमा राखिएको थियो।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हुँदै आएको कोरोनाको परीक्षण अहिले काठमाडौं बाहिर ७ स्थानमा सुरु भएको छ।

प्रवक्ता देवकोटाका अनुसार धरान, पोखरा, जनकपुर, सुर्खेत, हेटौडा, धनगढी र चितवनमा कोरोनाको परीक्षण सुरु भइसकेको छ भने बुटवलमा हुन सकेको छैन।

देवकोटाले काठमाडौं उपत्यकामा १२ र बाहिर १०१ गरी ११३ जना व्यक्ति आइसोलेसनमा रहेको जानकारी दिएका हुन्।

नेपालमा अहिलेसम्म कोरोना भाइरसका ९ जना संक्रमित भेटिएका छन्। तीमध्ये आठ जनाको आइसोलेसनमा उपचार भइरहेको छ भने एक व्यक्ति निको भएर घर फर्किसकेका छन्। शनिबारमात्रै कैलालीका दुई जना र कञ्चनपुरका एक गरी तीन जनामा कोरोनाको संक्रमण देखिएको थियो।

प्रवक्ता देवकोटाले संक्रमित व्यक्तिको सम्र्पकमा आएका सबैको कन्ट्याक ट्रेसिङ निरन्तर भइरहेको पनि जानकारी दिए। उनका अनुसार शनिबार फेला परेका संक्रमितको पनि कन्ट्याक्ट ट्रेसिङ सुरु गरिसकिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here