पाँचतारे होटल मेरियट सञ्चालनमा, १३ तल्ले भवनमा २१४ कोठा

काठमाडौं, २ बैशाख । एमएस ग्रुपको लगानीमा काठमाडौंको नक्सालमा निर्माण गरिएको पाँचतारे होटल मेरियटको सफ्ट ओपनिङ भएको छ ।

होटलले सोमबारदेखि आफ्नो सेवा सुरु गरेको हो । होटलको व्यवस्थापन अमेरिकी होटल चेन मेरियटले हेर्नेछ ।

एमएस ग्रुपका प्रवन्ध निर्देशक शशीकान्त अग्रवालका अनुसार होटल निर्माणमा करीब ४ अर्ब लगानी भएको छ ।

यस होटलको आगमनसँगै काठमाडौं उपत्यकामा करीब दुई दशक पछि नयाँ पाँचतारे होटल थपिएको छ ।

नक्साल नागपोखरी नजिकै रहेको १३ रोपनी क्षेत्रफल जग्गामा फैलिएको होटलको भवन पनि १३ तल्ले नै छ ।

होटलमा कुल २१४ वटा कोठाहरु रहेका छन् जसमध्ये १९३ डिलक्स रुम, २० वटा सुइट रुम र एउटा प्रेसिडेन्सियल रुम रहेका छन् । तीन तल्लाको बेसमेन्टमा पार्किङ रहेको होटलमा क्यासिनो पनि रहेको छ ।

पर्यटकीय गतिविधि बढ्दै गएपछि पछिल्लो समय नेपालमा ठूलो लगानीमा होटल निर्माण गर्ने क्रम बढ्दै गएको छ ।

मेरियटको सञ्चालनसँगै राजधानीमा सञ्चालनमा रहेका पाँचतारे होटलको संख्या आठ पुगेको छ । यस्तै अन्य विभिन्न पाँचतारे होटलहरु पनि निर्माणको क्रममा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here