भर्चुअल थिएटरमा अब दैनिक दुई नाटक, आज ५ बजे नाटक क्लेशाः

काठमाडौं, २४ चैत । ‘क्वारेन्टाइन अभियान नाट्य उत्सव–२०७६’मा बिहीबारदेखि दैनिक दुई नाटक देखाइने भएको छ ।

भर्चुअल थिएटर फेस्टिभलको रुपमा सञ्चालन गरिएको कार्यक्रम समापन नजिक पुगे पनि प्राप्त नाटकहरु धेरै भएकोले सबै नाटक दर्शकलाई देखाउन यो निर्णय लिइएको फेस्टिभल निर्देशक केदार श्रेष्ठले बताए ।

उत्सव समापनतिर पुगेको र दर्शकको उत्साहजनक सहभागिता र प्रतिक्रियाका कारण चैत २७ गते दिउँसो १ बजे पनि प्रदर्शन थप गरिएको हो ।

थपिएको दोस्रो साताको अन्तिम दिन बिहिबारदेखि पुनः थप केही दिन उत्सव लम्बाउँदै एकै दिनमा फरक फरक दुई नाटकको भिडियो प्रदर्शन गर्न लागेको श्रेष्ठले जानकारी दिए ।

उत्सवमा बुधबार प्रतिक्षा कट्टेल लिखित तथा विजया कार्की निर्देशित नाटक ‘क्लेशाः’को भिडियो प्रदर्शन हुँदैछ । जसमा सिनेमामा चर्चामा रहेकी अभिनेत्री सुरक्षा पन्तका साथै कुशल पाण्डे, सिर्जना अधिकारी, रुजु शर्मा, स्वप्निल घिमिरे लगायतको अभिनय रहेको छ ।

बिहिबार ‘अँधेरी नगरी चौपट राजा’ र ‘द फ्लाइट’

त्यस्तै दिनमा दुई नाटक सुरु हुने पहिलो दिन बिहिबार दिउँसो १ बजे भारतीय नाटककार भरतेन्दु हरिषचन्द्र लिखित, संगीत सापकोटा र आशिष घिमिरेको संगुक्त निर्देशन रहेको नाटक ‘अँधेरी नगरी चौपट राजा’को भिडियो देखाइने प्रस्तुति संयोजक प्रशुन सिन्धुलीयले बताए ।

त्यसै बिहिबार नै बेलुकी ५ बजे नाटक फ्रान्सेली निर्देशक एलिज बियान्निकको नेपाली भाषामा निर्मित डान्स ड्रामा ‘द फ्लाइट’को भिडियो प्रदर्शन हुनेछ ।

उत्सवमा चे शंकर निर्देशित लु सुनको कथामा आधा।ित ‘म्याड म्यान्स डायरी’ हिरा बिजुली निर्देशित कर्णाली आर्ट सेन्टरको प्रस्तुति ‘गर्भछिटा’, डेनमार्कको नाटक ‘टु बी’, आयोजककै ‘भोको घर’ तथा आरोहण गुरुकुलको अर्को एक नाटक पनि सूचिमा छन् ।

‘कोभिड–१९ संक्रमणको जोखिम कम नभएपछि सरकारले आगामी वैशाख ३ सम्मलाई ‘लकडाउन’ अवधि घोषणा गरेपछि एक साताको लक्ष्यसहित सुरु भएको उत्सव दोस्रो साता पनि निरन्तरता दिइएको थियो । संक्रमणबाट बच्ने एकमात्र उपाय ‘क्वारेन्टाइन’लाई प्रोत्साहन र साथ दिन थिएटर मल–कीर्तिपुर रङ्गमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेन (टिसिसी नेपाल)ले विश्व रङ्गमञ्च दिवस २७ मार्च (१४ चैत्र)बाट उत्सव सुरु गरेको हो ।

नाटकको भिडियो थिएटर मलको अफिसियल पेज फेसबुक डटकम स्ल्यास थिएटर मलबाट लाइभ स्ट्रिमिङ गरिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here