भर्चुअल थिएटरमा आज १ बजे ‘अँधेरी नगरी चौपट राजा’, ५ बजे ‘द फ्लाइट’

काठमाडौं , २७ चैत । भर्चुअल थिएटर फेस्टिभलमा आज बिहीबार ‘अँधेरी नगरी चौपट राजा’ र ‘द फ्लाइट’ गरी दुई नाटक प्रदर्शन हुँदैछन् ।

‘क्वारेन्टाइन अभियान नाट्य उत्सव–२०७६’को नाममा सञ्चालित सो फेस्टिभलमा आजदेखि दिनको दुई नाटक प्रदर्शन हुँदैछन् ।
सरकारले लकडाउनको समय लम्ब्याएपछि दर्शकहरूको माग बमोजिम बेलुकी ५ बजेका साथै दिउँसो १ बजे पनि नाटकको भिडियो प्रदर्शन हुने फेस्टिभल निर्देशक केदार श्रेष्ठले जानकारी दिए ।

यसअन्तर्गत बिहीबार दिउँसो १ बजे ‘अँधेरी नगरी चौपट राजा’को भिडियो प्रदर्शन हुँदैछ । भारतीय नाटककार भरतेन्दु हरिषचन्द्र लिखित नाटक संगीत सापकोटा र आशिष घिमिरेले संयुक्त निर्देशन गरेका हुन् ।

त्यस्तै नियमित समय बेलुकी ५ बजे फ्रान्सेली निर्देशक एलिज बियान्निकले नेपाली भाषामा निर्माण गरेको नृत्य नाटक ‘द फ्लाइट’को भिडियो प्रदर्शन हुनेछ ।

उत्सव समापनतिर पुगेको र दर्शकको उत्साहजनक सहभागिता भइरहेकोले प्रदर्शन थप गर्नुपरेको फेस्टिभल संयोजक सञ्जिता पराजुलीले बताइन् । एक साताको लागि भनेर सुरु गरिएको फेस्टिभललाई दर्शकको मागबमोजिम दोस्रो सातासम्म लम्ब्याइएको र त्यसको अन्तिम चरणमा भिडियो लाइभ गरिने समयसमेत थपेको उनले जानकारी दिइन् ।

उत्सवमा चे शंकर निर्देशित लु सुनको कथामा आधा।ित ‘म्याड म्यान्स डायरी’ हिरा बिजुली निर्देशित कर्णाली आर्ट सेन्टरको प्रस्तुति ‘गर्भछिटा’, डेनमार्कको नाटक ‘टु बी’, आयोजक थिएटर मलको ‘भोको घर’ तथा आरोहण गुरुकुलको अर्को एक नाटक पनि सूचीमा छन् ।

‘कोभिड–१९ संक्रमणको जोखिम कम नभएपछि सरकारले आगामी वैशाख ३ सम्मलाई ‘लकडाउन’ अवधि घोषणा गरेपछि एक साताको लक्ष्यसहित सुरु भएको उत्सव दोस्रो साता पनि निरन्तरता दिइएको थियो । संक्रमणबाट बच्ने एकमात्र उपाय ‘क्वारेन्टाइन’लाई प्रोत्साहन र साथ दिन थिएटर मल–कीर्तिपुर रङ्गमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेन (टिसिसी नेपाल)ले विश्व रङ्गमञ्च दिवस २७ मार्च (१४ चैत्र)बाट उत्सव सुरु गरेको हो ।

नाटकको भिडियो थिएटर मलको अफिसियल पेज फेसबुक डटकम स्ल्यास थिएटर मलबाट लाइभ स्ट्रिमिङ गरिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here