घरमै बसेर हेर्नुस एकै दिन तीन नाटक, आज एक विदेशी र दुई नेपाली सिर्जना

काठमाडौं, २८ चैत । लकडाउनका कारण घरमै बसेर दिक्क भएका तथा युट्युबमा फिल्म हेरेर आजित भएका दर्शकलाई भर्चुअल थिएटर फेस्टिभल ‘क्वारेन्टाइन अभियान नाट्य उत्सव–२०७६’ले नाटक देखाएर फरक स्वाद पस्किरहेको छ ।

पहिले दैनिक एक र बिहीबार दुई नाटक देखाइएको उत्सवमा आज शुक्रबार तीन नाटकको भिडियो प्रदर्शन हुँदैछ ।

यस अन्तर्गत आज दिउँसो १ बजे दुई नाटक प्रदर्शन हुँदैछ । जसमा डेनमार्कबाट आएको ज्याक म्याथिसन सिर्जित तथा निर्देशित पपेट प्ले ‘टु बी’ र चिनियाँ साहित्यकार लु सुनको कथामा आधारित, चे शंकर निर्देशित ‘म्याड म्यान्स डायरी’को भिडियो हुनेछ । ‘म्याड म्यान डायरी’मा सुदाम सिकेको एकल अभियन रहेको छ ।

त्यस्तै साँझ ५ बजे आयोजककै नाटक ‘भोको घर’को भिडियो देखाइनेछ । गोविन्द बहादुर मल्ल ‘गोठाले’लिखित नाटक ‘भोको घर’लाई केदार श्रेष्ठले निर्देशन गरेका हुन् । जसमा आकाश मगर, शान्ति गिरी, सुदाम सिके, सञ्जिता पराजुली, अभय बराललगायतको अभिनय छ ।

नाट्य उत्सवमा नाटकको भिडियो प्रदर्शन श्रृंखला शनिबारसम्म मात्रै चल्ने घोषणा आयोजकले गरिसकेका छन् । यद्यपि त्यसपछि पनि फरक प्रकारका कार्यकम भने जारी रहनेछन् ।

फेस्टिभल निर्देशक केदार श्रेष्ठका अनुसार त्यसपछि आइतबार प्यानल डिस्कसनको तयारी भइरहेको छ । त्यसपछिका दिनमा पनि हरेक साँझ ५ बजे केही न केही सिर्जनशील कार्यक्रम जारी राख्ने उनले बताए ।

अन्तिम दिन ‘गर्भछिटा’ र ‘ताराबाजी लै लै’

क्वारेन्टाइन अभियान नाट्य उत्सवको नाटक देखाउने अन्तिम दिन शनिबार कर्णाली आर्ट सेन्टर, मुगुको नाटक ‘गर्भछिटा’ र आरोहण गुरुकुलको नाटक ‘ताराबाजी लै लै’को भिडियो देखाइने फेस्टिभलका प्रस्तुति संयोजक प्रशुन सिन्धुलियले जनाएका छन् ।

‘कोभिड–१९ संक्रमणको जोखिम कम नभएपछि सरकारले आगामी वैशाख ३ सम्मलाई ‘लकडाउन’ अवधि घोषणा गरेपछि एक साताको लक्ष्यसहित सुरु भएको उत्सव दोस्रो साता पनि निरन्तरता दिइएको थियो ।

संक्रमणबाट बच्ने एकमात्र उपाय ‘क्वारेन्टाइन’लाई प्रोत्साहन र साथ दिन थिएटर मल–कीर्तिपुर रङ्गमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेन (टिसिसी नेपाल)ले विश्व रङ्गमञ्च दिवस २७ मार्च (१४ चैत्र)बाट उत्सव सुरु गरेको हो ।

नाटकको भिडियो थिएटर मलको अफिसियल पेज फेसबुक डटकम स्ल्यास थिएटर मलबाट लाइभ स्ट्रिमिङ गरिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here