एनसेलले तिर्‍यो २३ अर्ब ४३ करोड पुँजीगत लाभकर, करको दायित्व पूरा

काठमाडौं, ३० चैत । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले आफ्नो सेयर स्वामित्व खरिद बिक्री वापतको पुँजीगत लाभकर तिरेको छ ।

आइतवार एनसेलले आफ्नो सेयर स्वामित्व खरिद बिक्री बापत तिर्नुपर्ने बाँकी रकम १४ अर्ब ३३ करोड ५६ लाख ५२ हजार ५४६ रुपैयाँ पूँजीगत लाभकर तिरेको ठूला करदाता कार्यालयले जनाएको छ ।

यससँगै उसले तिनुपर्ने कर चुक्ता भएको छ । दुई साताअघि दोस्रो किस्ता बापत् चार अर्ब ६० करोड बुझाएको एनसेलले आइतवार बाँकी सबै रकम बुझाएको हो। यससँगै उसले कुल २३ अर्ब ४३ करोड ५६ लाख ५२ हजार पाँच सय ४६ रुपैयाँ बुझाएको छ ।

यससँगै एनसेलको लाभकरसँग सम्बन्धि सबै दायित्व सकिएको र २०७२ चैत २९ देखिको यस प्रकरणको अन्त्य भएको छ’ ठूला करदाता कार्यालयले भनेको छ ।

कुल २२ अर्ब ४५ करोड रुपैयाँ पुँजीगत लाभ कर निर्धारण भएकामा एनसेलले यसअघि चार अर्ब ५० करोड रुपैयाँ कर तिरेको थियो ।

एनसेलले सुरुमा अग्रिम लाभकर बापत् कूल लाभको १५ प्रतिशतले हुने २२ अर्ब रुपैयाँ सरकारलाई बुझाएको थियो। त्यसपछि बाँकीको १० प्रतिशत लाभकर कोसँग असुल गर्ने भन्ने विवाद सुरु भएको थियो।

यो विवादमा सर्वोच्च अदालतले फैसला दिएपछि एनसेलको सेयर कारोबारमा भएको लाभमा बाँकीको १० प्रतिशत कर भुक्तानीको प्रक्रिया सुरु भएको थियो। सर्वोच्चको फैसला लगत्तै एनसेलले बाँकी रहेको करको करिब २० प्रतिशत रकम बुझाएको थियो।

त्यतिबेला एनसेलले चार अर्ब ५० करोड रुपैयाँ पुँजीगत लाभकर सरकारलाई बुझाएको थियो। दोस्रो किस्ता बापत् ४ अर्ब ६० करोड बुझाएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here