गाउँ नफर्किन काठमाडौंका मेयरको आग्रह, समस्या परे ११८० मा फोन गर्नुस

काठमाडौं, १ बैशाख । काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले काठमाडौंमा बसेका नागरिकहरुलाई गाउँ नफर्किन आग्रह गरेका छन् ।

नयाँ वर्ष २०७७ को अवसरमा जारी शुभकामना सन्देशमा उनले नगरवासीहरु लकडाउनको समयमा काठमाडौँबाट गाउँघर फर्किन थालेको प्रति चिन्ता व्यक्त गर्दै उनीहरुलाई यहीं रहन र कुनै समस्या परे महानगरमा सम्पर्क गर्न पनि आग्रह गरेका छन् ।

त्यसका लागि महानगरपालिकाको पैसा नलाग्ने (टोल फ्रि) नम्बर ११८० सम्पर्क गर्न उनको अनुरोध छ ।

‘केही नगरवासीहरु लकडाउनको समयमा काठमाडौँबाट गाउँघर फर्किन थालेका समाचारहरु सुनिनमा आएका छन् । यो संकटको घडीमा उहाँहरुलाई सहर छाडेर नगइदिनुहुन र यहाँ बस्दा कुनै पनि प्रकारको समस्या आएको भए आफू बसेको सम्वन्धित वडा कार्यालय वा काठमाडौँ महानगरपालिकाको टोल फ्रि नम्बर ११८० मा सम्पर्क गर्नुहुन सबैलाई हार्दिक अनुरोध गर्दछु,’ उनले भनेका छन् ।

साथै, महानगपालिकाले महानगवासीको लागि प्रयोगमा ल्याएको कोभिड–१९ संक्रमण बारे स्वमूल्याकंन गर्न सकिने नेपाल कोभिड–१९ सर्भिलेन्स डाउनलोड गरी प्रयोग गर्न महानगरले आग्रह गरेको छ ।

विरामी अस्पताल लैजान समस्या भएमा महानगरपालिकाको सहकार्यमा सञ्चालिन नेपाल एम्बुलेन्स सेवा १०२मा सम्पर्क गर्न सकिनेछ ।

‘यस महामारी विरुद्ध लड्न हामी सबैलाई साहस र हौसला प्राप्त होस् भन्ने कामना व्यक्त गर्दछु,’ मेयर शाक्यले सन्देशमा भनेका छन् ।
सबै जना आ–आफ्नै घरमा लकडाउनको अवस्थामा रहेको स्मरण गराउँदै नयाँ वर्षलाई धुमधामसँग नमनाउन पनि उनले आग्रह गरेका छन् ।

कोरोनाभाइरसको संक्रमण विरुद्ध लड्न अहिले काठमाडौँ महानगरपालिकाले हरेक दिन विभिन्न वडाहरुमा किट्नाशक औषधी छर्कने, बु्रमर प्रयोग गरी नियमित सरसफाई गर्ने, नियमित फोहोर उठाउने कार्य गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here