पर्यटनमा १ खर्ब ६० अर्ब क्षतिको अनुमान, कोरोनापछि बार्षिक एक महिना पर्यटन विदा

काठमाडौं, ८ बैशाख । कोरोनाका कारण धराशयी भएको पर्यटन क्षेत्रलाई उकास्न सरकारले वार्षिक एक महिना पर्यटन विदा दिने योजना बनाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कोरोना संक्रमण रोकिएपछि आन्तरिक पर्यटकमार्फत पर्यटन क्षेत्र बचाउन एक महिना विदा दिने गरि योजना बनाइरहेको जानकारी दिएका छन् ।

‘यो महाब्याधी नियन्त्रणका बारेमा अहिलेनै भन्न सकिने अवस्था छैन, संक्रमण रोकिएपनि वाह्य पर्यटक आउने सम्भावना कम छ,’ उनले भने, ‘त्यसैले नेपालको पर्यटन क्षेत्र भाइब्रेन्ट बनाउन आन्तरिक पर्यटनलाई बढावा दिनुपर्छ ।’

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले ‘कोरोना महामारीले पर्यटन क्षेत्रमा पारेको असर र आगामी बाटो’ विषयमा आयोजना गरेको भिडियो अन्र्तक्रियामा मन्त्री भट्टराईले पर्यटनको पुनर्उत्थानमा सरकार र निजी क्षेत्र मिलेर अगाडी बढ्ने बताएका हुन ।

उनले पर्यटन क्षेत्रको वित्तीय संकट समाधानका लागि अर्थमन्त्रालयसँग छलफल गरेको बताए ।

वैकल्पिक रोजगारीको खोजी

मन्त्री भट्टराईले होटल लगायतका क्षेत्रमा कार्यरत जनशक्तिलाई वैकल्पिक काममा लगाउन सरकारले गृहकार्य गरिरहेको समेत बताए ।

उनका अनुसार ती जनशक्तिलाई हिमाल सरसफाई, साइनेजिङ, फुट ट्रेल निर्माणमा लगाउन सकिनेछ । सन् २०१९ मा पर्यटन क्षेत्रबाट डलर आम्दानी ६७ अर्ब रुपैयाँ भएको उल्लेख गर्दै मन्त्री भट्टराईले सन् २०२० का सवै योजना स्थगित भएकोले नयाँ ढंगले अगाडी बढ्ने समेत बताए ।

मन्त्री भट्टराइले नेपालको पर्यटन क्षेत्रमा कति लगानी भन्ने विषयमा समेत अहिलेसम्म खास तथ्यांक नरहेकोले अहिले तथ्यांक संकलनसंगै क्षतिको विवरण संकलनको काम भइरहेको समेत बताए ।

‘तथ्यांकको संकलन पर्यटन क्षेत्रमा लगानी कति छ ? बैंकहरुको लगानी कति छ ? श्रमिक कति छन् र क्षति के कति हो भन्ने आउछ,’ मन्त्री भट्टराईले भने । तथ्यांक आएपछि सरकारले लगानीकर्ता र श्रमिकमा विषयमा खास कदम चाल्ने समेत छलफलमा जानकारी दिएका छन् ।

नेपालको पर्यटन क्षेत्रमा कोरोनाको असरबाट पर्यटन क्षेत्रमा करिब १ खर्ब ६० अर्ब क्षति हुने अनुमान गरिएको नेपाल पर्यटन बोर्डका पुर्व कार्यकारी अधिकृत (सिइओ) दिपकराज जोशीले बताए ।

पर्यटन क्षेत्रमा १३ लाख जनशक्तीलाई समेत असर गरेको जोशीले बताए । सरकारले सन् २०२२ सम्मको गुरु योजना बनाएर पर्यटन क्षेत्रको पुनर्उत्थान गर्न आवश्यक रहेको जोशीले बताए ।

‘मन्त्रालयले नीतिगत परिवर्तन गरेर नयाँ संयन्त्र बनाउन आवश्यक छ’, उनले भने,’ यो एउटा नयाँपन ल्याउने ठूलो अवसर पनि हो,’ ।

सुरक्षा निर्देशिका बनाउन सुझाव

सरकारले यो अवस्थामा मुलुकको हरेक क्षेत्रमा सुरक्षा अवलम्बनका लागि म्यानुअल संयन्त्र बनाउन आवश्यक रहेको जोशीले बताए ।

सरकार र निजी क्षेत्रको सहकार्यमा सन् २०२० मा पर्यटन उद्योगलाई बचाउने, सन् २०२१ मा पुर्नउत्थान गर्ने र सन् २०२२ मा पूर्ण रुपमा पर्यटकीय गतिविधि विस्तार गर्ने रणनीति लिनुपर्ने उनले बताए ।

जोशीले साना उद्योगी र श्रमिक बचाउने खालको प्याकेज समेत सरकारले ल्याउनुपर्ने बताए ।

सामाजिक सुरक्षा कोष प्रयोग गर्न माग

होटल संघ नेपालका द्धितिय उपाध्यक्ष प्रविण पाण्डेले पर्यटन उद्योग बचाउन निजी क्षेत्रले जम्मा गरेको सामाजिक सुरक्षा कोष प्रयोगमा ल्याउनुपर्ने बताए ।

‘अब लकडाउन खुलिहालेपनि विदेशी पर्यटक आउने सम्भावना कम छ । हवाई यात्रामा पनि सामाजिक दुरी कायम गर्दा भाडा महँगो हुने भएकाले पर्यटक घुमफिरको सम्भावना कम देखिन्छ,’ उनले भने, ‘अब विकल्प भनेकै आन्तरिक पर्यटन हो,’ ।

उनले श्रमिकको तलव खुवाउन होटल व्यवसायीलाई समस्या पर्ने भएकोले त्यसतर्फ ध्यान सवैको जानुपर्ने बताए ।

अव सरकारले नयाँ बन्दै गरेको अन्तर्राष्ट्रिय विमानस्थलको प्रयोग कसरी गर्ने र धेरै भन्दा धेरै पर्यटक भित्र्याउने विषयमा केन्द्रित हुनुपर्ने बताए ।

‘सरकार र निजी क्षेत्र मिलेर ३ वर्ष पर्यटनको पुर्नउत्थान गर्नेमा केन्द्रित हुन आवस्यक छ,’ पाण्डेले भने । सरकारले रिफाइनान्स र सस्तो ब्वाजको व्यवस्था गर्न समेत पाण्डेले सुझाव दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here