कृषकलाई मल, बीउ र पेट्रोल घरघरमै

काठमाडौं, १० बैशाख । लकडाउनका कारण गाउँबाट बजारमा आउन नपाएका बागलुङका किसानलाई मिर्मिरे कृषि सहकारी संस्थाले राहत दिने कार्यक्रम सार्वजनिक गरेको छ ।

सहकारीले बीउ, मल र पेट्रोल किसानको गाउँटोलसम्म लगिदिने निर्णय गरेको सहकारीका कोषाध्यक्ष थानेश्वर सुवेदीले बताए ।

‘कृषिको पकेट क्षेत्रसम्म ढुवानी गरिदिने, किसानलाई होलसेल मूल्यमा दिने, सकेसम्म त्यसबाट पनि छुुट दिने निर्णय गरेका छौँ,’ सुवेदीले भने, ‘किसानले समयमा मल, बीउ नपाएर कृषि बाली लगाउन नपाउने समस्या समाधान गर्न खोजेका हौँ ।’

गाउँगाउँमा हाते ट्र्याक्टरबाट खनजोत गर्दै आएका छन् तर डिजेल र पेट्रोल नपाएर समयमा खनजोत गर्न नपाएको गुनासो आउन थालेपछि सहकारीले उनीहरुलाई पेट्रोलियम पदार्थ पनि उपलब्ध गराउने भएको अध्यक्ष गङ्गाबहादुर थापाले बताए ।

यसैबीच कोरोना सङ्क्रमणको जोखिम बढेपछि बागलुङमा बाहिरी जिल्लाबाट तरकारी आउन छाडेको छ । ‘धेरै दिन भयो बाहिरको तरकारी आएकै छैन,’ बानपा–२ स्थित तरकारी पसलका एक व्यवसायी हीरादेवी पौडेलले भनिन्, ‘गाउँगाउँको उत्पादनको भरमा गुजारा चलिरहेको छ ।’

स्थानीय काउली, बन्दागोभी, लौका, कबेली र सिमी बजारमा आएका छन् । तराईबाट ढुवानी रोकिएकाले गोलभेडा, प्याजजस्ता तरकारी बजारमा देख्न छाडिएको छ । फलफूलतर्फ स्थानीय केराबाहेक अन्य बजारमा छैनन् ।

भकुण्डे, तित्याङ, मुलपानी र कुँडुलेका किसानको टोलटोलमै कृषिजन्य सामग्री लगिदिने योजना सहकारीले बनाएको हो । केरा पनि केही स्थानमा मात्र पाइन्छ । स्याउ, अनार, अङ्गुरजस्ता फलफूल देख्न नपाएको धेरै दिन भइसकेको पौडेलको भनाइ छ ।

‘अत्यावश्यक सामग्री ढुवानीअन्तर्गत खाद्यान्न आए पनि तरकारी, फलफूल आएको छैन,’ बागलुङ उद्योग वाणिज्य सङ्घका महासचिव नरेश कँडेलले भने, ‘अधिकांश उत्पादन विदेशबाट आउने भएकाले भित्रिएको छैन ।’ स्याउ प्रायः चीन र भारतबाट आउने गरेको थियो । सङ्क्रमणको जोखिम, ढिलागरी आइपुग्ने भएकाले तरकारी र फलफूल नआएको उनले बताए । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here