सुरक्षा खर्च कटौती गरी मानव कल्याणमा लगाउन डा. खतिवडाको सुझाव

काठमाडौं, ११ बैशाख । अर्थमन्त्री डा. युवराज खतिवडाले सुरक्षा क्षेत्रमा भइरहेको बढ्दो खर्च कम गरी सार्वजनिक स्रोत मानव कल्याणमा लगाउनु पर्ने बताएका छन् ।

कोभिड–१९ जस्ता अज्ञात शत्रुको सामना गर्न नसकेसम्म सुरक्षा क्षेत्रमा भईरहेको बढ्दो खर्चले अर्थ नराख्ने उल्लेख गर्दै उनले सार्वजनिक स्रोत मानव कल्याणमा पुनर्प्राथिमिकीकरण र केन्द्रीत गर्नुपर्छ, उनले भने ।

विश्व आर्थिक मञ्चका पदाधिकारी, दक्षिण एशियाली राष्ट्रहरुका सरकार प्रमुख तथा उच्चपदस्थ पदाधिकारी, निजी क्षेत्रका प्रतिनिधि, अर्थशास्त्री एवम् विश्व स्वास्थ्य संगठनका पदाधिकारी बीच विश्वभर फैलिएको कोरोनाभाईरस (कोभिड–१९) ले पारेको एवं पार्न सक्ने प्रभाव र सो लाई सम्बोधन गर्ने उपाय बारे आज भिडियो कन्फरेन्समार्फत बिहीबार छलफल गर्दै उनले यस्तो धारणा राखेका हुन् ।

कोभिड–१९ ले हालसम्म पुर्याएको तथा थप पुर्याउन सक्ने आर्थिक क्षतिको पुनस्र्थापना गर्न सरकार, अन्तर्रा्ष्ट्रिय संघसंस्था र निजी क्षेत्रको सामूहिक प्रयास आवश्यक हुने उनको धारणा छ ।

महामारीले बहुसंख्यक जनतालाई बेरोजगारी र गरिबीतर्फ धकेलेको बताउँदै उनले विगत तीन दशक देखि गरिबी निवारणमा गरेको प्रयास र सफलतालाई यसले कमजोर बनाउँदै लगेको र दिगो विकास लक्ष्य हासिल गर्न थप चुनौती थपेको उल्लेख गरे ।

‘यो विश्वव्यापी संकटको समाधान गर्न अन्तर्रा्ष्ट्रिय तथा क्षेत्रीय प्रयास, साझेदारी र सहयोगबाट मात्र सम्भव छ,’ उनले भने ।

हालको संकटलाई सामना गर्न अर्थमन्त्री डा. खतिवडाले तीन सुझाव दिएका छन्ः (१) सीमानाकामा हुने मानिसहरुको आवातजावत नियन्त्रण तथा आप्रवासी कामदारहरुको लागि आधारभूत सुविधा उपलब्ध गराउन अन्तर्रा्ष्ट्रिय सहयोग र समन्वय गर्ने (२) स्वच्छ व्यापारको माध्यमबाट आधारभूत खाद्यान्न, औषधि र स्वास्थ्य उपकरण उपलब्ध गराउन सुनिश्चितता प्रदान गर्ने, (३) ऋण स्थगन र ऋण मोचनका माध्यमबाट कम आयस्रोत भएका मुलुकहरुको वित्तीय क्षमता बढाउने ।

उक्त छलफलमा बंगलादेशका प्रधानमन्त्री शेख हसिना, विश्व आर्थिक मञ्चका अध्यक्ष बर्ज ब्रेण्ड, विश्व स्वास्थ्य संगठनका दक्षिणा – पूर्व एशिया निर्देशक पुनम खेत्रापल सिंह लगायत अन्य सहभागीले कोभिड –१९ को संकटलाई पार लगाउन सबैको सामूहिक र एकीकृत प्रयास रहनुपर्ने कुरामा जोड दिएको अर्थमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here