पाँच मिनेटमै ट्याक्सी

काठमाडौं, ४ बैशाख । राजधानीमा एपमा आधारित केही ट्याक्सी सेवाहरु प्रभावकारी बन्न नसकेको अवस्थामा उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले त्यस्तै एपमा आधारित सेवा शुरु गरेको छ ।

उपत्यकाका ५ हजार भन्दा बढी स्वरोजगार ट्याक्सी चालकहरुको समाजले आफ्ना यात्रुहरुलाई प्रविधिमा आधारित हुँदै ट्याक्सी सेवा शुरु गर्ने भएको हो । उसले अनुरोध गरेको ५ मिनेट भित्रै सम्बन्धित व्यक्तिसमक्ष ट्याक्सी पुग्ने बताएको छ ।

समाजले मोबाइल एप्स इजीट्याक्सीनेपाल मार्फत वैशाख दोस्रो सातादेखि परिक्षणको रुपमा एप्समा आधारित हुँदै ट्याक्सी सेवा थाल्दैछ । उसले सरकारी मूल्यमै सेवा दिने तयारी गरेको छ ।

समाजले हालको ट्याक्सी भाडा दरले ट्याक्सी सेवा संचालन गर्न कठिन रहेको भन्दै भाडा वृद्धि गर्न सम्बन्धित निकायलाई अनुरोध गरेको र सो आधारमा ट्याक्सी भाडा समायोजन गरेपछि हुने नयाँ मिटर भाडा दरमा नै एप्समा आधारित भएर सेवा सञ्चालन गर्ने उल्लेख गरेको छ ।

कसरी लिने सेवा ?

हाल काठमाडौं उपत्यकामा मात्र संचालन गरिने इजीट्याक्सीनेपाल एप्सको सेवाका लागि यात्रुले सो एप्स डाउनलोड गरेर आफूलाई दर्ता गर्नुपर्ने हुन्छ । यसको लागि कस्टमर लगइन रजिस्टर बनाईएको छ भने यात्रुले लगइन गरेपछि त्यसमा देखिने रियलटाइम म्यापमा आफू बसेको स्थानदेखि जाने गन्तव्य छनौट गर्नुपर्दछ ।

यात्रुले एप्समा गरेको अनुरोधको आधारमा सो क्षेत्रमा नजिक भएका ट्याक्सी चालकहरुले सोही एप्समार्फत सो अनुरोधलाई स्विकार गर्नेछन् । र त्यसमा भएको यात्रुको मोबाइल नम्बरमा फोन गरेर यात्रु भएको स्थानमा गएर सेवा दिनेछन् ।

उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका अध्यक्ष सानु पूर्वा छानेले भने, ‘नेपालमा ट्याक्सी र चालकलाई निकै हेप्ने गरिन्छ तर हामीपनि यहि समाजका नागरिक हौं, त्यसैले हामीले यात्रुको सुविधालाई ध्यानमा दिँदै प्रविधिमैत्री ट्याक्सी सेवा संचालन गर्न लागेका हौं ।’ सफ्टवेयर कम्पनीको सहयोगमा तयार पारिएको एप्सबाट यात्रुले अनुरोध गरेपछि ट्याक्सीले यात्रु भएकै स्थानमा ५ मिनेटमा नै पुगेर सेवा दिने उनले स्पष्ट पारे ।

हालको लागि यात्रुले सो एप्समा लगइन गरेर यात्रा गर्दा नगदमा नै भुक्तानी गर्न सक्नेछन भने छिटै डिजिटल वालेटमार्फत पनि भाडा भुक्तानी गर्न सक्ने सुविधा आउनेछ ।

यात्रुले इजीट्याक्सीनेपालको वेबसाइटमार्फत पनि यो एप्स र यसको प्रयोगको बारेमा जानकारी लिन सक्नेछन् ।

छवि सुधार्ने प्रयास

उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले ट्याक्सी सेवालाई नकारात्मकरुपमा मात्र हेर्ने गरिएको हुँदा प्रविधिको आधारमा सेवा दिएर यात्रुलाई सुविधा दिँदै नयाँ प्रयास गर्न लागिएको बताएको छ ।

उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका महासचिव पूर्णलाल मोक्तान (तामाङ), ले काठमाडौंको ट्याक्सीसेवालाई भरपर्दो, यात्रुमैत्री र प्रविधियुक्त बनाएर नयाँ ढंगले अगाडि जाने योजनासाथ एप्स संचालन गरेको बताए ।

राती पनि सेवा

इजीट्याक्सीनेपाल एप्समा उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका सबै सदस्य चालकहरु दर्ता हुनेछन भने यात्रुले दिउँसो र राती दुबै सिफ्टमा सेवा प्राप्त गर्नेछन् । त्यसैगरि यो एप्समा आबद्ध भएका चालक र यो एप्समार्फत सेवा लिने यात्रु दुबैको ५ लाख रुपैयाँको बीमा गरिएको छ ।

काठमाडौं उपत्यकाभर आफ्नो सेवा संचालन गरिरहेको उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाज विसं. २०७५ सालदेखि संगठितरुपमा सक्रिय रहेको छ ।

समाजले इजीट्याक्सीनेपाल एप्समा आधारित ट्याक्सीसेवा आगामी दिनमा अन्य शहरहरुमा पनि बिस्तार गर्ने योजना लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here