बुद्ध एयरको जहाजभित्र शौचालय प्रयोग गर्न नपाइने

फाइलफोटो

काठमाडौं, १५ बैशाख । वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले कोरोनाबाट हवाई सुरक्षा निर्देशिका बनाएको छ । विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुरुप जहाजका लागि निर्देशिका बनाइएको कम्पनीले उल्लेख गरेको छ ।

बुद्धले आफ्ना आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान गन्तव्यका लागि सुरक्षा निर्देशिका बनाएको हो। उक्त सुरक्षा निर्देशिका अनुसार कोभिड–१९ को सङ्क्रमण फैलन नदिनका लागि अब जहाजभित्र शौचालय प्रयोग गर्न नपाइने भएको छ।

खासगरी सामूहिक प्रयोगका वस्तु प्रयोग रोक्ने उद्देश्यले शौचालय प्रयोगमा रोक लगाइएको हो। हवाई यात्रुका लागि तोकिएको यो सुरक्षा निर्देशिका विश्व स्वास्थ्य सङ्गठनले महामारीको जोखिम नहटाएसम्म लागू हुने कम्पनीले जनाएको छ।

बुद्धले यात्रुको सुरक्षालाई ध्यानमा राखी स्वासप्रस्वाससम्बन्धी बिरामी तथा रुघाखोकी, जीउ दुख्ने, सिँगान बग्नेजस्ता कोरोनासँग सम्बन्धित लक्षण देखिएका सबै बिरामीलाई जहाजमा चढ्न निषेध गरिने जनाएको छ। त्यसका लागि आफ्ना काउन्टरमा विशेष व्यवस्था मिलाइनेछ।

कम्पनीले आगामी हवाई उडानमा क्याटरिङ सेवा बन्द गर्नेछ। एक वा दुईजना एअर होस्टेसले धेरैजना यात्रुलाई क्याटरिङ बाँड्दा त्यसले सङ्क्रमण फैलन सक्ने भएकाले यस्तो व्यवस्था गरिने भएको हो।

उडानका क्रममा उपयोग हुने र्‍याम्पबसमा सीमित मात्रमा यात्रु चढाइनाका साथै जहाजमा चढ्नुपूर्व सबै यात्रुले स्यानिटाइजर प्रयोग गर्नुपर्नेछ। त्यसैगरी जहाजमा घरपालुवा जनावर लैजान दिइनेछैन। विमानस्थलमा यात्रुले सामाजिक दूरी कायम गर्नुपर्नेछ।

यात्रुलाई जहाजमा चढाउनु अगाडि कम्पनीले आफ्ना सबै कार्यालय र उपकरण, सवारी साधन र हवाईजहाजसमेत स्यानिटाइज गर्ने जनाएको छ।

बुद्ध एअरका कार्यालय र सबै कर्मचारीले समेत सुरक्षा निर्देशिकाको कडा पालना गर्नुपर्ने व्यवस्था गरिएको छ।

कार्यालयभित्र सहकर्मीका कुनै पनि सामग्री प्रयोग गर्न पाइने छैन। कर्मचारीले खाजा सकभर घरमै बनाएर ल्याउन वा कार्यालयको क्यान्टिनमा मात्र खानु पर्नेछ।

मास्कलगायत स्वास्थ्य सुरक्षासम्बन्धी आवश्यक सामग्री कम्पनीले हरेक कर्मचारीलाई उपलब्ध गराइनेछ। कर्मचारीलाई भीडभाड हुने क्षेत्र, सिनेमा हल, रेस्टुरेन्टलगायत क्षेत्रमा जान रोक लगाइएको कम्पनीले बताएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here