आपूर्तिकर्ताको गल्तीका कारण लाखमरीमा बढी मूल्यको स्टीकर लागेको भाटभटेनीको दाबी

फाइलफोटो

काठमाडौं, १६ वैशाख । भाटभटेनी सुपर मार्केटले आपूर्तिकर्ता कम्पनीका कारण आफूले अन्जानमा लाखमरीमा बढी मूल्य लिएको बताएको छ ।

बुधबार एक विज्ञप्ति जारी गर्दै उसले टेकुस्थित काष्ठमण्डप खाद्य उद्योग प्रालिबाट आपूर्ति गरिएको २५० ग्रामको लाखमरी प्याकेटमा ५०० ग्रामको मूल्य टाँसिएकाले अन्जानमा बढी मूल्य लिएको बताएको हो ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौंको टंगालस्थित भाटभटेनी सुपरमार्केटलाई १५ गते जरिवाना गरेको थियो ।

भाटभटेनी सुपरमार्केटले आफ्ना आउटलेटमार्फत बिक्री हुने हरेक सामानको मूल्य र स्टकको हिसाबकिताब राख्न बारकोड प्रयोग गर्दै आएको छ । तर उक्त लाखमरीको हकमा लकडाउनजन्य जटिल परिस्थितिका कारण हामीले बारकोडको स्टिकर टाँस्ने जिम्मा सामान आपूर्तिकर्ता काष्ठमाण्डप खाद्य उद्योगलाई नै दिएका थियौं, भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले भने ।

काष्ठमण्डपले लकडाउनकै कारण सीमित तथा बारकोडको विषयमा गहिरो जानकारी नभएका कर्मचारीबाट काम गराउँदा २५० र ५०० ग्रामको ५० वटा लाखमरी प्याकेटमा एउटै मूल्यको बारकोड स्टिकर टाँसिन गएको उनले बताएका छन् ।

सोही बारकोड रिडरले पहिचान गर्दा कम्प्युटर प्रणालीमा बढी मूल्य देखिन गई विभागले जरिवाना गरेको हो ।

प्राविधिक र कानुनी रुपमा यो गल्ती भएको स्वीकार गर्दै भाटभटेनीले यो उपभोक्ता ठग्ने अथवा गलत बाटोबाट पैसा कमाउने नियतले नभएको बताएको छ ।
एक लाख ५० हजारभन्दा बढी फरक मूल्यका वस्तुमध्ये एउटा वस्तुमा मानवीय त्रुटिले गल्ती देखिएको घटनालाई आधार मानेर भाटभटेनीलाई अन्यथा नठान्न पनि उसले आग्रह गरेको छ ।

गल्ती हाम्रो होः काष्ठमण्ड फुड

यसैवीच काष्ठमण्डप फुडका अनिलदास राजकर्णिकारले बारकोडमा त्रुटी आफ्नै कम्पनीबाट भएको बताएका छन् ।

काष्ठमण्डप खाद्य उद्योगले भाटभटेनी सुपरमार्केटलाई विगत १० वर्षदेखि नेवार समुदायको लोकप्रिय खानेकुरा लाखमरी, तिलको लड्डु, ऐंठे, रोट, पञ्जाफी, अनरसा लगायत सप्लाई गर्दै आएको छ ।

‘बारकोड र मूल्यको स्टिकर टाँस्ने कार्य मूलतः भाटभटेनी आफैंले गर्ने गरे पनि यसपटक लकडाउनको प्रतिकूल अवस्थामा उक्त बारकोडको स्टिकर टाँस्ने जिम्मा हामीलाई दिएको थियो । लकडाउनका कारण हाम्रा अधिकांश कर्मचारी काममा आउन नसकेको र सीमित तथा बारकोडको विषयमा गहिरो जानकारी नभएका कर्मचारीबाट काम गराउँदा २५० र ५०० ग्रामको प्याकेटमा एउटै मूल्यको बारकोड स्टिकर टाँसिन गएको हो,’ उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here