भाटभटेनी सुपरमार्केट जोगाउने काष्ठमण्डपलाई ३ लाख जरिवाना

काठमाडौं, १८ बैशाख । टेकुस्थित काष्ठमण्डप खाद्य उद्योगले म्याद नाघेको तयारी खाद्य वस्तु विक्री गरेकोमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले रु. ३ लाख जरिवाना गरेको छ ।

विभागले बिहीबार गरेको अनुगमनको क्रममा उद्योगले म्याद नाघेका खाद्यवस्तु बिक्री गरेको भेटाएको हो ।

कम्पनीलाई उपभोक्ता संरक्षण ऐन २०७५ को १(२)(क) बमोजिम अनुचित क्रियाकलाप गरेको आरोपमा कारवाही गरिएको विभागले जनाएको छ ।

काष्ठमण्डपले बुधबार एक विज्ञप्ति जारी गरी भाटभटेनी सुपरमार्केटले लाखमरीमा बढी मूल्य लिएको गल्तीको जिम्मा आफूले लिएको थियो ।

आफूले अधिकतम खुद्रा मुल्यको स्टीकर टाँस्ने बेलामा गल्ती भएकाले भाटभटेनी निर्दोष रहेको कम्पनीका अनिलदास राजकर्णिकारले बताएका थिए ।

यसैवीच, वाणिज्य विभागले कोटेस्वरस्थित बिके स्टोर्सलाई सुकमेलमा बढी मूल्य लिई बिक्री गरेकोमा रु. २ लाख जरिवाना गरेको छ ।

२०७६ चैत ११ देखि २०७७ बैशाख १७ गतेसम्मको अवधिमा विभागले १ हजार गुनासो प्राप्त गरेको, ९१ अनुगमन गरेको र करीब रु. ४८ लाख रुपैयाँ जरिवाना गरेको बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here