काठमाडौं, १९ बैशाख । नेपालमा कोरोना भाइरसका थप दुई संक्रमित भेटिएका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो पटक गरिएको पीसीआर परीक्षणका क्रममा रुपन्देही जिल्लाका एक र बाँके जिल्लाका एक जनामा कोरोना भाइरसको पुष्टि भएको हो।
मन्त्रालयका अनुसार रुपन्देहीका २५ वर्षीय र बाँकेका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । दुबैको अवस्था सामान्य छ ।
योसँगै कोरोना भाइरस पाँच नं प्रदेशमा पनि देखिएको छ भने संक्रमितको संख्या ५९ पुगेको छ। संक्रमित ५९ मध्ये १६ जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। बाँकी ४३ संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।