धान र तरकारीको बीउमा ५० प्रतिशत अनुदान

ललितपुर, १९ बैशाख । गोदावरी नगरपालिकाले नगरक्षेत्रका किसानलाई ५० प्रतिशत अनुदानमा धान र तरकारीको बीउ विक्री वितरण गर्ने भएको छ ।

कोरोना भाइरसको जोखिम हुन नदिन जारी लकडाउनले बीउ खरीद गर्ने वातावरण नरहँदा नरपालिकाले सो सहयोगको योजना अघि बढाएको हो ।

नगरवासीलाई सहयोगस्वरुप केही राहत पुगोस् भनी बीउबिजनको व्यवस्था गरिदिन लागेको वडा नं ३ का वडाध्यक्ष बालमुकुन्द घिमिरेले जानकारी दिए ।

उनले भने, ‘हामीले बीउबिजन आवश्यक पर्ने नगरवासीलाई नागरिकता र जग्गाधनी प्रमाणपत्र फोटोकपीको साथमा निवेदन लिएर आउन आह्वान गरेका छौँ ।’

बीउ जोहो गर्ने समय भइसकेको छ । यहाँका जनताले बीउ खरीदको चिन्ता लिएसँगै समस्या समाधान गर्न बीउ खरीद गरी बाँड्ने नगरपालिका कृषि शाखा प्रमुख बेदनाथ पन्थीले जानकारी दिए।

उनले भने, ‘हामीले बीउबिजन संघ र कृषि सामग्री लिमिटेडबाट ताइचिन, खुमल ४ र खुमल १० नामक बीउ ल्याई वितरण गर्ने मनसाय बनाएका छौँ ।’ रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here