बजेट खर्चको अवस्था झन् दयनीय बन्दै, खर्च गर्न नसकेपछि २० अर्ब ‘सरेन्डर’

काठमाडौं, २२ बैशाख । सरकारले चालू आवको चैत मसान्तसम्म ६ खर्ब ७६ अर्ब रुपैयाँ खर्च गरेको छ ।

सोमबार संघीय प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले सरकारी खर्चको तथ्यांक प्रस्तुत गरेका हुन्।

तथ्यांक अनुसार आर्थिक वर्षमा पनि बजेट खर्चको अवस्था झन् दयनीय बन्दै गएको छ । विभिन्न मन्त्रालयलाई विनियोजन गरिएको रकम खर्च गर्न नसकेपछि अर्थमन्त्रालयलाई बजेट सरेन्डर गर्ने क्रम बढेको छ ।

चैत मसान्तसम्म खर्च नभएको रकम २० अर्ब रुपैयाँ सरेन्डर गरिसकेको खतिवडाले बताए । कानुनतः चैत मसान्तसम्म खर्च नभएको रकम सरेन्डर गर्नुपर्ने प्रवाधन रहेको छ ।

खतिवडाका अनुसार चैत मसान्तसम्म चालूतर्फ ४ सय ८८ अर्ब रुपैयाँ अर्थात् लक्ष्यको ५१ प्रतिशत खर्च भएको छ। त्यस्तै विकासे खर्च अर्थात् पुँजीगततर्फ १०५ अर्ब रुपैयाँ खर्च भएको छ।

यो वार्षिक अनुमानको करिब २६ प्रतिशत रहेको उनले बताए। त्यस्तै वित्तीय व्यवस्थापनमा ८४ अर्ब अर्थात् अनुमानको ५० प्रतिशत खर्च भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here