पानीजहाजको टुंगो छैन, कार्यालयलाई डेढ करोडको गाडी

फाइलफोटो

काठमाडौं, २४ बैशाख । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तरगतको एक वर्षअघि स्थापना भएको नेपाल पानी जहाज कार्यालयले डेढ करोड रुपैयाँ पर्ने गाडी किन्‍ने भएको छ।

कार्यालयले १ करोड ४३ लाख ९८ हजार बराबरको चार पांग्रे एसयूभी गाडी किन्न लागेको हो ।

बुधबार एक सूचना जारी गर्दै कार्यालयले फागुन ८ गते गोरखापत्रमा प्रकाशित सूचना अनुसार गाडी खरिदको लागि कम्पनी छनोट गरेको जानकारी दिएको छ ।

नेपालका कर्णाली, नारायणी र सप्तकोशीसहितका नदीमा पानीजहाज चलाउन सकिने भन्दै २०७५ फागुनमा पानी जहाज कार्यालयको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए। तर कार्यालय खुलेको दुई वर्ष बितिसक्दा पनि पानी जहाजको अझै टुंगो छैन।

तरपनि ई-बिडिङबाट गरिएको गाडी किन्‍न गरिएको बोलपत्रमा नयाँ नैकपास्थित सिप्रदी ट्रेडिङ लिमिटेडले उक्त गाडी किन्‍ने ठेक्का पाएको छ। यो कार्यालयले २०७६ फागुन ८ गते महँगो मूल्यको सुविधायुक्त चार पांग्रे गाडी किन्‍नका लागि बोलपत्र आह्वान गरेको थियो।

कार्यालयले सार्वजनिक खरिद ऐन २०६३ को दफा २७ को उपदफा २ अनुसार तथा सार्वजनिक खरिद ऐन २०६३ दफा ४७ अनुसार गाडी खरिद गरिएको जनाएको छ।

सरकारले अहिले कोभिडविरुद्ध लड्न खर्च अभाव हुनसक्ने भन्दै विभिन्न शीर्षकमा बजेटमार्फत विनियोजन भएका खर्चहरु गर्न रोक लगाएको छ ।

चैत २० अघि दायित्व सिर्जना भइसकेको र बोलपत्र आह्वान भइसकेका बाहेकका कार्यक्रममा रकम निकासा गर्न बाधा नहुने गरी अब बजेटमा खर्च गर्न नदिने निर्णय गरेको छ । यो गाडी किन्ने बोलपत्र भने फागुनमै प्रकाशित भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here