तरकारी बारीमै सड्ने डरले बिक्रीका लागि घुम्ती सेवा !

बाँके, २६ बैशाख । लकडाउन बढेपछि स्थानीय सरकारले बर्दियाको ठाकुरबाबा नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा किसानले उत्पादन गरेका तरकारी बिक्रीका लागि घुम्ती सेवा अभियान सञ्चालन गरेको छ ।

बन्दाबन्दीका कारण किसानको तरकारी बारीमै खेर नजाओस् भन्ने उद्देश्यले अभियान सञ्चालन गरिएको ठाकुरबाबाका नगरप्रमुख घननारायण श्रेष्ठले बताए ।
तरकारी संकलन तथा बिक्रीका लागि कृषि एम्बुलेन्स जस्तै घुम्ती सेवा अभियान सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।

अभियानअन्तर्गत नेउलापुर कृषि उपज बजार समितिले किसानको बारीमै पुगेर तरकारी संकलन गर्ने र टोलटोलमा पुर्‍याउने नगरपालिका कृषि शाखा प्रमुख धरुवराज बमले जानकारी दिए ।

नगर क्षेत्रका विभिन्न किसानले उत्पादन गरेका लौका, बोडी, भिन्डी, करेला, काँक्रा, फर्सीलगायत हरिया तरकारी बिक्री हुने गरेको कृषि शाखाले जनाएको छ ।

नेउलापुर कृषि उपज बजार समितिले तरकारी संकलन र बिक्री उपसमिति बनाएर किसानले उत्पादन गरेका तरकारी संकलन र बिक्रीको जिम्मेवारी दिएको छ ।

लकडाउनले बजार तथा होटल व्यवसाय बन्द भएपछि किसानको तरकारी बिक्री हुन सकेको थिएन । तरकारी बिक्री नभएर बारीमै सड्ने चिन्ताले पिरोलिएका किसान बारीबाटै बिक्री हुन थालेपछि खुसी भएका छन् । -रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here