सिंगापुरमा रोबोट कुकुरले मानिसलाई सिकाउँदैछ सामाजिक दूरी

सिंगापुर । सिंगापुरले मानिसहरुलाई सामाजिक दूरी कायम गर्न सिकाउनका लागि रोबोट कुकुरको प्रयोग गरिरहेको छ ।

सामाजिक दूरी कायम गर्नका लागि आदेश जारी गर्नुको सट्टा त्यहाँको सरकारले रोबोट कुकुरलाई प्रयोगमा ल्याएको हो जसले जगिङ र साइक्लिङ गर्नेहरुलाई नम्र भाषामा कोरोनाभाइरसबारे सचेत बनाउँदै अन्य व्यक्तिहरुबाट टाढा बस्न आग्रह गरिरहेको छ ।

बोस्टन डाइनामिक्सले बनाएको रिमोटबाट चल्ने सो रोबोटका चार ओटा खुट्टा छन् । यसलाई परीक्षणको रुपमा शुक्रबारदेखि सेण्ट्रल पार्कमा सञ्चालन गरिएको छ । सिंगापुर सरकारले थप स्थानहरुमा पनि यस्तै रोबोटहरु परिचालन गर्ने बताएको छ ।

रोबोटले मीठो नारी स्वरमा ‘सिंगापुरलाई स्वस्थ राखौं ।’ ‘तपाईंको आफ्नै र वरिपरिका सबैको स्वास्थ्यको लागि दूरी कायम गर्नुस् । धन्यवाद ।’

यद्यपि सिंगापुरमा बन्दाबन्दी उल्लंघन गर्नेहरुलाई जरिवाना तथा जेलजस्ता कडा सजायको व्यवस्था छ । करीब ५७ लाख जनसंख्या रहेको सिंगापुरमा २१ हजार भन्दा बढी कोरोनाभाइरसका बिरामी छन् । यो एशियाकै उच्चदर मध्ये एक हो । खासगरी सिंगापुरमा बाहिरबाट आएका कामदारहरुमा यस्तो संक्रमणदर ज्यादै उच्च देखिएको छ ।

सरकारले जुन १ सम्मका लागि बन्दाबन्दी घोषणा गरेको छ त्यसैले मानिसहरु अत्यावश्यक कामका लागि मात्रै बाहिर निस्किन पाउँछन् । घर बाहिर शारीरिक अभ्यास गर्न छुट दिइएको छ तर एक्लाएक्लै मात्र ।

अर्को रोबोट कारको आकारमा जलाशय छेउमा राखिएको छ । उसले धेरै यताउता नगर्नुस् तथा जमघट नगर्नुस भन्ने जस्ता सन्देश दिन्छ ।

रोबोटहरुका साथै सिंगापुरले रेडियो तथा टिभिबाट सन्देश दिने, सीसीटीभी क्यामेराहरुबाट निगरानी गर्ने र पार्कमा भएका मानिसहरुको संख्या गणना गर्ने प्रविधि चलाउने जस्ता काम गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here