राष्ट्रिय अर्थतन्त्रमा बाग्मतीको हिस्सा ३६ प्रतिशत, वृद्धिदर सुदूरपश्चिमको बढी

राष्ट्रिय अर्थतन्त्रमा प्रदेशगत हिस्सा

काठमाडौं, ३० बैशाख । राष्ट्रिय अर्थतन्त्रमा बाग्मती प्रदेशको हिस्सा ३५.८४ प्रतिशत रहने अनुमान गरिएको छ ।

केन्द्रीय तथ्यांक बिभागले मंगलबार आर्थिक वर्ष २०७६–७७ को प्रादेशिक कुल गार्हस्थ उत्पादन (जीडीपी)को तथ्यांक सार्वजनिक गरी सात प्रदेशमध्ये बाग्मतीको अर्थतन्त्र सबैभन्दा ठूलो रहने जानकारी दिएको हो ।

उसका अनुसार प्रदेश १ को राष्ट्रिय अर्थतन्त्रमा हिस्सा १५.८२ प्रतिशत रहेको छ भने प्रदेश ५ को १४.१८ र प्रदेश २ को १३.७८ प्रतिशत छ । गण्डकीको हिस्सा ८.९ प्रतिशत र सुदूरपश्चिमको ७.२१ प्रतिशत छ भने सबैभन्दा कम कर्णालीको ४.२७ प्रतिशत छ ।

बिभागका अनुसार गत आर्थिक वर्षको तुलनामा अर्थतन्त्रमा प्रदेशको हिस्सामा ठूलो फेरबदल आएको छैन । चालु आर्थिक वर्ष २०७६–७७ को ६ देखि ८ महिनासम्मको तथ्यांक तथा सूचनालाई गणना गरी नयाँ अनुमान बनाइएको हो ।

त्यसका साथै कोरोनाभाइरसको महामारीबाट जोगाउन गरिएको प्रयासबाट आर्थिक क्रियाकलापमा पर्न गएको नकारात्मक असरलाई पनि ध्यानमा राखेर आर्थिक वृद्धिको अनुमान गरिएको विभागको भनाइ छ ।

राष्ट्रिय जीडीपी भने यो वर्ष रु. ३७ खर्ब ६७ अर्ब हुने अनुमान छ । त्यसमा बाग्मतीको जीडीपी रु. १३ खर्ब ५० अर्ब रहने अनुमान छ भने कर्णालीको रु. १ खर्ब ६१ अर्ब रहने छ ।

वृद्धिदर सुदूरपश्चिमको बढी

नेपालको राष्ट्रिय अर्थतन्त्रको वृद्धिदर २.२८ प्रतिशत अनुमान गरिएकोमा सुदूरपश्चिमको वृद्धिदर ४.०८ प्रतिशत रहने बताइएको छ । त्यो सम्पूर्ण प्रदेशहरुमध्ये सबैभन्दा बढी हो ।

बाग्मतीको वृदिदर सबैभन्दा कम १.२३ प्रतिशत रहने अनुमान छ । प्रदेश १ को ३.४१ प्रतिशत, प्रदेश २ को २.२८ प्रतिशत, गण्डकीको २.६८ प्रतिशशत, प्रदेश ५ को २ प्रतिशत र कर्णालीको ३.५६ प्रतिशत रहने अनुमान गरिएको छ ।

गत आर्थिक वर्षमा प्रदेश २ को वृद्धिदर सबैभन्दा बढी ८.१२ प्रतिशत र बाग्मतीको सबैभन्दा कम ६.४ प्रतिशत रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here