‘बजेट आर्थिक पुनःउत्थानमा केन्द्रित, स्वास्थ्य पूर्वाधार पहिलो प्राथमिकतामा’

काठमाडौं, ३१ बैशाख । अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक पुनःउत्थान, स्वास्थ्य पूर्वाधार र कृषि क्षेत्रमा आगामी आर्थिक वर्षको बजेट केन्द्रित हुने बताएका छन्।

प्रतिनिधिसभामा बजेटको प्राथमिकता र सिद्धान्तको विषयमा उठेको सवालको जवाफ दिँदै उनले ‘आधारभूत स्वास्थ्य सेवा र शिक्षामा राज्यको भूमिका भएकाले त्यही आधारबाट अघि बढ्ने जनाकारी दिए ।

उनले स्वास्थ्य पूर्वाधारलाई पहिलो प्राथमिकतामा राखिएको बताए। आधारभूत स्वास्थ्य सेवा र शिक्षामा राज्यको भूमिका दरिलो बनाउन बजेट केन्द्रित हुने अर्थमन्त्रीको भनाइ थियो।

उनले आगामी वर्ष कोरोना नियन्त्रण र उपचारमा मात्रै नभइ अन्य काम पनि गर्नुपर्ने भएकोले अन्य कार्यक्रम पनि समावेश हुने बताए ।

जवाफमा भोकबाट लड्न लकडाउनमा पनि केही उद्योग खोलिएको उल्लेख गरे । ‘ रोग र भोक सँग लड्नुछ यसका लागि पनि आर्थिक क्रियाकलाप अघि बढाउनै पर्छ ।

आर्थिक क्षेत्र अगाडी बढाएन भने रोजगार कसरी सृजना हुन्छ ? काम लगाएर राहत दिन पनि आर्थिक क्रियाकलाप बढाउनुपर्छ उनले भने ।

नेपालमा द्रुत विकासको आकांक्षा धेरै रहेकोले अग्रगामी कार्यक्रमहरु पनि समावेश हुने उनले जानकारी दिए। कोरोना नेपालको मात्र नभएर विश्वकै साझा समस्या भएको उल्लेख गर्दै उनले विश्वकै अधिकतम सहयोग र सहकार्यका खाँचो औँल्याए।

विदेशमा रहेका नेपालीको स्वास्थ्य सुरक्षाप्रति सरकार गम्भीर रहेको भन्दै उनले प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले सम्बन्धित मुलुकका समकक्षीसँग संवाद गरी कुनै पनि नागरिकलाई समस्या पर्न नदिन पहल गरिरहेको बताए।

विदेशमा अलपत्र परेका नेपाली नागरिकलाई कोभिड-१९ को जोखिम न्यूनीकरण भएपछि स्वदेश फर्काउने विषयमा छलफल भइरहेको उल्लेख गर्दै अर्थमन्त्री डा खतिवडाले जोखिमको अवस्थामा धेरै अवातजावत गर्न नहुने र सङ्क्रमणको जोखिमको सन्दर्भमा पनि सबैले ख्याल गर्नुपर्ने बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here