सरकारको नीति तथा कार्यक्रम सार्वजनिक हुँदै, रोजगारी र स्वास्थ्य क्षेत्र प्राथमिकतामा

काठमाडौं, २ जेठ । आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम शुक्रबार सार्वजनिक हुँदैछ ।

रोजगारी र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर तयार गरेको नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठक) मा अपराह्न ४ बजे प्रस्तुत गर्नेछिन् ।

कोरोना भाइरसको संक्रमणको जोखिम रहेकाले सामाजिक दूरी कायम हुने गरी बैठक कक्षमा बस्ने व्यवस्था मिलाइएको छ । प्रतिनिधिसभामा २ सय ७५ र राष्ट्रियसभामा ५९ सांसद छन् ।

संक्रमणको जोखिम उच्च भएकाले यस पटकको नीति तथा कार्यक्रममा २९ जना अतिथिलाई मात्रै निमन्त्रणा गरिएको छ ।

संबैधानिक निकायका प्रमुख लगायतका उच्च सरकारी अधिकारीलाई बोलाइए पनि कुटनीतिक नियोगका प्रतिनिधिलाई यस पटक नबोलाइए सचिवालयले जनाएको छ ।

कोरोना भाइरस संक्रमणले मुलुक आक्रान्त भइरहेका बेला सरकारले नीति तथा कार्यक्रममा रोजगारी र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता राखेको बताइएको छ ।

आगामी नीति तथा कार्यक्रममा सरकारले आत्मनिर्भरता, औद्योगिक उत्पादन वृद्धि र निर्यातलाई जोड दिएको छ।

भारत र चीन दुवै छिमेकीको सीमामा अन्तरदेशीय आर्थिक क्षेत्र विकास गर्न पहल गरिने, ८४ वटा औद्योगिक ग्राम स्थापना थाल्ने, सिमेन्ट उद्योगलाई प्राथमिकता दिने लगायतका कार्यक्रम समावेश छन्।

नेपालसँग जोडिएको बिहार र उत्तर प्रदेशमा सिमेन्ट उत्पादन ज्यादै न्यून रहेको र उक्त बजारलाई प्राथमिकतामा राख्दै सिमेन्ट निर्यातको कार्यक्रम समावेश गरिएको छ। यसबाट सिमेन्ट उद्योगीहरु उत्साहित हुने देखिएको छ।

नीति तथा कार्यक्रममा यसपटक नयाँ कार्यक्रम नआउने तथा स्वास्थ्य रोजगारीलाई प्राथमिकता दिएर बजेट तय गरिने अर्थमन्त्री डा.युवराज खतिवडाले यसअघि नै जनाउ दिइसकेका छन् ।

सो नीति तथा कार्यक्रमका आधारमा जेठ १५ गते आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट आउने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here