जेठ ५ गतेपछि जोखिम क्षेत्र छुट्याएर लकडाउनको स्वरुप परिवर्तन हुने

काठमाडौं, २ जेठ । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लक डाउनको मोडालिटी परिवर्तन गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ। समितिको शुक्रबार बसेको बैठकले ५ जेठपछि लकडाउनको मोडालिटी परिवर्तन गर्ने निर्णय गरेको हो

उच्चस्तरीय समन्वय समितिले गरेको निर्णय मन्त्रिपरिषद्मा सिफारिस गरिनेछ ।

स्वास्थ्य क्षेत्रका विज्ञहरुसँगको छलफलपछि समितिले जोखिम क्षेत्र छुट्याएर लक डाउनको मोडालिटी परिवर्तन गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण विडारीले बताए।

जारी लकडाउनको समीक्षा गर्दै समितिले उच्च जोखिममा रहेको क्षेत्र, मध्यम जोखिममा रहेका क्षेत्र र न्यून जोखिममा रहेका क्षेत्रको पहिचान गरी मोडालिटी परिवर्तन गर्ने निर्णय गरेको उनले बताए।

चिकित्सा क्षेत्रका विज्ञहरुले सरकारलाई वैज्ञानिक ढंगबाट निर्णय गर्न र सम्बन्धित क्षेत्रका व्यक्तिहरुसँग पनि सल्लाह गर्न सुझाब दिएका छन्। विज्ञहरुका सुझावहरुमा पुनः छलफल गरी समितिले निर्णय गर्नेछ।