विदेशी विनिमय सञ्चिति बढ्यो, चैत मसान्तमा ११ खर्ब ५५ करोड मौज्दात

काठमाडौं, ५ जेठ । २०७६ असार मसान्तमा रु.१० खर्ब ३८ अर्ब ९२ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ११.३ प्रतिशतले बृद्धि भई २०७६ चैत मसान्तमा रु.११ खर्ब ५५ अर्ब ९० करोड बराबर पुगेको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७६ असार मसान्तमा ९ अर्ब ५० करोड रहेकोमा २०७६ चैत मसान्तमा ९ अर्ब ४९ करोड पुगेको नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका नौ महिनाको आर्थिक स्थिति प्रतिवेदनमा उल्लेख गरेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७६ असार मसान्तमा रु.९ खर्ब २ अर्ब ४४ करोड रहेकोमा २०७६ चैत मसान्तमा रु.९ खर्ब ९६ अर्ब ८ करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७६ असार मसान्तमा रु.१ खर्ब ३६ अर्ब ४७ करोड रहेकोमा २०७६ चैत मसान्तमा रु.१ खर्ब ५९ अर्ब ८१ करोड पुगेको छ ।

२०७६ चैत मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.९ प्रतिशत रहेको छ ।

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७६/७७ को नौ महिनासम्मको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १०.७ महिनाको वस्तु आयात र ९.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ ।

समीक्षा अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३०.७ प्रतिशत, ७८.८ प्रतिशत र २९.६ प्रतिशत रहेका छन् ।

२०७६ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३०.० प्रतिशत, ६४.९ प्रतिशत र २९.० प्रतिशत रहेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here