नेपालमा कोरोनाबाट थप एकको मृत्यु, मृतकको संख्या तीन पुग्यो

फाइल फोटो

काठमाडौं, ८ जेठ । नेपालमा कोरोनाभाइरसका कारण तेस्रो व्यक्तिको मृत्यु भएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएका जानकारी अनुसार रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका पहिलो कोरोना संक्रमित ४१ वर्षीय पुरुषको उपचारका क्रममा बिहिबार बिहान मृत्यु भएको हो ।

गुल्मीको मदाने गाउँपालिका पुर्कोटका उनी गएको जेठ १ गते ज्वरो आउने र रुघाखोकी लाग्ने समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए।

क्रिमसन अस्पतालमा भर्ना हुनुभन्दा एक हप्ता पहिल्यैदेखि उनमा ज्वरो देखिएको थियो । उनले गाउँकै पुर्कोट दहस्थित मदाने पोलिक्लिनिकमा जाँच गराएका थिए ।

उनको भर्ना भएको दिनदेखि नै भेन्टिलेटरको सहायतामा उपचार भइरहको थियो।

योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ३ पुगेको छ।

यसअघि बाँकेको नरैनापुर गाउँपालिकाको एउटा क्वारेन्टाइनमा बसेका २४ वर्षका युवकको र सिन्धुपाल्चोकको एक सुत्केरी महिलाको मृत्यु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here