अन्तरिक्ष केन्द्रमा सफलतापूर्वक जाेडियाे नेपाली स्याटेलाइट

काठमाडाैं, ९ वैशाख । गत बिहीबार अन्तरिक्षका लागि प्रक्षेपण गरिएको नेपालको आफ्नै भूउपग्रह ‘नेपाली स्याटलाइट वान’ पृथ्वीको तल्लो कक्षमा अवस्थित अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा सफलतापूर्वक जाेडिएकाे छ ।

साेमबार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)ले पत्रकार सम्मेलन गरी स्याटलाइट वान पृथ्वीको सतहबाट ४ सय किलोमिटर उचाइमा रहेको पृथ्वीलाई परिक्रमा गर्ने तल्लो कक्षमा अवस्थित अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा जोडिने कार्य सफलतापूर्वक सम्पन्न भएको जानकारी गराएको हो ।

जापानमा नेपाली वैज्ञानिकले निर्माण गरेको सो न्यानो स्याटेलाइट गत वैशाख ५ गते बिहान २ बजेर ३१ मिनेट जाँदा अमेरिकाको भर्जिनिया स्थित केन्द्रबाट अन्तरिक्षमा पठाइएको थियाे । नेपाली वैज्ञानिकद्वय आभाष मास्के र हरिराम श्रेष्ठले सो स्याटेलाइट तयार गरेका हुन् ।

सो स्याटलाईट ३६ घण्टा ४० मिनेटपछि बैशाख ६ गते नेपाली समय अनुसार दिउँसो ३ बजेर १३ मिनेट जाँदा अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्रमा जोडिन सफल भएको नाष्टका प्रवक्ता डा. सुरेशकुमार ढंगेलले जानकारी दिए ।

स्याटेलाइटबाट जलवायु परिवर्तनसम्बन्धी अध्ययन तथा शहरी विकास योजनाको तयारीजस्ता कार्यमा सहयोग पुग्ने बताइएकाे छ । स्याटेलाइटमा रिमोट सेन्सिङ सुविधा भएकाले त्यसले विपद पूर्व सूचनामा पनि सघाउने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here