विद्युत उपयोग गर्ने ग्राहकको संख्या साढे ४१ लाख नाघ्यो, १० प्रतिशत जनसंख्या पहुँच बाहिर

काठमाडौं, १४ जेठ । नेपालमा कुल जनसंख्याको १० प्रतिशत अझै विद्युत् पहुँचको बाहिर रहेका छन् । आर्थिक सर्वेक्षण २०७६/७७ मा विद्युत पहुँच ९० प्रतिशत जनसंख्यामा पुगेको उल्लेख गरिएको छ ।

नेपाल विद्युत् प्राधिकरण मातहत र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको पहुँच ९० प्रतिशत जनतामा पुगेको देखिन्छ ।

२०७६ असारसम्म ८८ प्रतिशत जनतामा विद्युत पहुँच पुगेकोमा अहिले सो बढेर ९० प्रतिशतमा पुगेको छ । चालु आर्थिक वर्षमा २ प्रतिशत जनतामा विद्युत पहुँच विस्तार भएको हो ।

सर्वेक्षण अनुसार दोस्रो त्रैमास (साउनदेखि फागुन ) सम्म ४१ लाख ५५ हजार ६ सय ४० ग्राहकले विद्युत उपयोग गरिरहेका छन् ।

अहिले विद्युत जडित क्षमता १३ सय ५५ मेगावाट पुगेको उल्लेख छ । गत आर्थिक वर्षमा १२ सय ५१ मेगावाट रहेको विद्युत उत्पादन चालु आवमा ८.३ प्रतिशतले बढेर १३ सय ५५ मेगावाट पुगेको छ ।

सो उत्पादित विद्युतमध्य १२ सय ३३ मेगावाट जलविद्युतबाट हो भने ५४ मेगावाट थर्मल प्लान्टबाट उत्पादन गरिएको विद्युत हो ।

नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा सञ्चालित विद्युत आयोजनाबाट ६ सय ६५ मेगावाट र निजी क्षेत्रबाट सञ्चालित जलविद्युत आयोजनाबाट ६ सय ५१ मेगावाट विद्युत उत्पादन भएको छ ।

चालु आवमा नेपाल विद्युत प्राधिकरण र यसका सहायक कम्पनीहरू तथा निजी क्षेत्रबाट सञ्चालित विभिन्न जलजिद्युत आयोजनाबाट १९२.९ मेगावाट विद्युत उत्पादन भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here