सरकारी सेवा र व्यवसाय खुला गर्दै दुबई, नेपाली कामदारलाई राहत

मल अफ इमिरेट्स दुबई

काठमाडौं, १५ जेठ । दुबईले क्रमशः सरकारी कार्यालय र व्यवसाय खुला गर्ने घोषणा गरेको छ । आइतबार अर्थात मे ३१ देखि सरकारले ५० प्रतिशत आफ्ना कर्मचारी काममा फिर्ता बोलाउने र जुन १४ बाट सबै कर्मचारीलाई बोलाउने निर्णय गरेको छ ।

संयुक्त अरब अधिराज्य (युएई) का उपाध्यक्ष शेख मोहम्मद बिन रशिदले बुधबार त्यसको घोषणा गरेका हुन् । दुबईका राजकुमार हमाद बिन मोहम्ममद बिन रशिद अल मक्तुमले सुरक्षा तथा अन्य सावधानी अपनाउँदै दुबईलाई क्रमशः खुला गर्ने घोषणा सामाजिक सञ्जालमार्फत गरेका छन् ।

विगतमा महिनाहरुमा दुबई सरकारले घरमै रहेर काम गर्ने खालका स्मार्ट प्रविधिहरुको प्रवद्र्धन र प्रयोग गरेको र कुनै पनि सेवा प्रभावित नभएको राजकुमारले बताएका छन् ।

बुधबारदेखि नै दुबई सामान्य हुँदै गएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले बताएका छन् । सरकारले जिम तथा सिनेमाहरु खेल्न अनुमति दिएको छ ।

जिम तथा सिनेमा रातको समयमा सञ्चालनमा आउने छन् भने क्षमताको ५० प्रतिशत व्यक्तिहरु मात्र त्यहाँ जान सक्नेछन् ।

सरकारले नयाँ व्यवस्था गरेसँगै धेरै व्यवसायहरु खुल्ने दुबईस्थित रेन्बो ट्रेडिङका प्रवन्धक टीकाराम ढकालले बताए ।

उनका अनुसार सामाजिक दूरी कायम गर्ने, घरबाट बाहिर निस्किंदा मास्क लागाउने र जिममा मेशिनको वीचनमा प्लाष्टिकको पर्खाल लगाउने जस्ता व्यवस्था भने कायम नै रहने छन् । साथै, १२ वर्ष मुनिका बालबालिका र ६० वर्षमाथिका नागरिक र दीर्घ रोग लागेका नागरिकहरु भने घरबाट निस्किन पाउने छैनन् ।

दुबईका ठूला मनोरञ्जनका केन्द्र दुबई आई रिंक तथा पार्कहरु पनि खुल्ने भएका छन् । सरकारले दुबई अन्तराष्ट्रिय विमानस्थल पनि खुला गर्ने तयारी गरेको बताइएको छ ।

ढकालका अनुसार दुबई सरकारले व्यवसायी उद्यमीलाई मात्र सहयोग गरेको छ, कामदारहरु प्राथमिकतामा छैनन् । व्यवसायले कामदारलाई धान्न सकेन भने सरकारले मात्र सक्दैन, त्यसैले व्यवसायीलाई आफ्ना कामदारलाई हेर्नु पर्ने बाध्यता छ, टेलिफोनमा क्लाउडपत्रिकासँग कुरा गर्दै उनले भने ।

ठूलाठूला उद्योग तथा मलहरुले लकडाउनका कारण अकल्पनीय वित्तीय अप्ठयारो भोगेपछि सरकारले नयाँ निर्णय लिएको हुन सक्ने ढकालको भनाइ छ ।

यसले रोजगारीको अन्यौल भएका नेपाली कामदारलाइ सहयोग पुग्ने पनि उनले बताए । लकडाउनका कारण धेरै नेपाली कामदार अप्ठ्यारोमा परेपछि सरकारलाई नेपाल फिर्ता ल्याउन अनुरोध गर्दै आएका छन् ।

दुबई सरकारले त नेपालले ल्याउन नसके उसैले काठमाडौंसम्म आफ्नै खर्चमा ल्याएर छाडिदिने बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here