कालीमाटीका २२२ प्रहरीको कोरोना नेगेटिभ, ९ जनाको रिपोर्ट आउन बाँकी

काठमाडौं, १७ जेठ । महानगरीय प्रहरी वृत्त कालीमाटी र सोही क्षेत्रमा कार्यरत २२२ जना प्रहरीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौं स्रोतका अनुसार २३१ मध्ये २२२ जनाको रिपोर्ट नेगेटिभ आएको र थप ९ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।

वृत्तमा कार्यरत दुई प्रहरीमा कोरोना संक्रमण देखिएपछि वृत्त सिल गरिएको छ । सिल गरिएपछि वृत्त र प्रभागसहित त्यहाँ रहेका ट्राफिक प्रहरीसमेत दुई सय ३१ जनाको थ्रोट स्वाबको नमूना संकलन गरिएको थियो।

अब ९ जनाको परीक्षण रिपोर्ट आउन बाँकी रहेको प्रहरी परिसर काठमाडौंले जनाएको छ।

नमूना संकलन गरिएका सबै प्रहरी अहिले क्‍वारेन्टाइनमा छन्। उनीहरू सबै ब्यारेकभित्रै बसिरहेका छन्। कालीमाटी क्षेत्रको सुरक्षा जिम्मेवारी अन्य प्रहरी युनिटले गर्दै आएका छन् । कोरोना संक्रमण भएका दुवै प्रहरी अस्पतालबाट डिस्चार्ज भएका छन् ।

शसस्त्र प्रहरीको बलम्बुस्थित कोविड–१९ अस्पतालमा उनीहरुको अन्य रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here