कोरोनाबाट विदेशमा १ सय २१ नेपालीको मृत्यु, १४ हजार ४२५ जना संक्रमित

काठमाडौं, १८ जेठ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) संक्रमणका कारण शनिबार साँझसम्म नेपाल बाहिर मृत्यु हुने नेपालीहरुको संख्या १ सय २१ पुगेको गैर आवासीय नेपाली संघले जनाएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता थप ७ जना नेपालीहरुले कोरोनाका कारण ज्यान गुमाएका छन् । संघका अनुसार युएईमा १ जना, युकेमा १ जना , अमेरिकामा १ जना, बहराइनमा २ जना, कुवेतमा १ जना र साउदी अरबमा १ जना नेपालीको यो साता ज्यान गएको हो ।

संघ अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार सबैभन्दा बढी बेलायतमा ६६ जना गैरआवासीय नेपालको मृत्यु भएको छ। समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार संयुक्त अरब इमिरेट्स्ट (युएई) मा १९ जना नेपालीको मृत्यु भएको छ ।

त्यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको नेपालीको संख्या १७ पुगेको छ। त्यस्तै, साउदी अरबमा ८ जना, बहराइनमा ३ जना, कुवेतमा २ जना, कतारमा १ जना, आयरल्याण्डमा १ जना, जापानमा १ जना, टर्कीमा १ जना, नेदरल्याण्डमा १ जना र स्वीडेनमा १ जनाको मृत्यु भएको छ।

संयोजक डा सापकोटाका अनुसार विदेशमा १४ हजार ४ सय २५ नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन्।

स्वास्थ्य समितिका अनुसार कतार, अमेरिका, युएई, युके, साउदी अरब, कुवेत, बहराइन, मलेसिया, टर्की, डेनमार्क, प्रोतुगल, क्यानाडा, आयरल्याण्ड, माल्दिभ्स्, स्पेन, अष्ट्रेलिया, जापान, बेल्जिमय, स्वीड्रल्याण्ड, फिनल्याण्ड, जर्मनी, साईप्रस, न्यूजील्याण्ड, हङकङ, भारत, माल्टा, पोल्याण्ड, रुस, फ्रान्स, म्यानमार, रोमानिया, स्वीडेन, नेदरल्याण्ड लगायतका ३४ देशका नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ।

संक्रमितमध्ये ४ हजार ५ सय भन्दा बढी नेपालीहरु संक्रमणमुक्त भएको बताएको सापकोटाले जानकारी दिए। यो साता डेनमार्क र टर्कीमा रहेका नेपालीमा नयाँ संक्रमण देखिएको हो।

स्वदेश फर्काउन सहजीकरण गर्दै एनआरएनए

कोरोना भाइरस महामारीका कारण समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने काममा एनआरएनएले सरकारलाई सहयोग गर्ने भएको छ ।

सरकारले भारतबाहेक तेस्रो मुलुकमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने निर्णयको गरेको गैरआवासीय नेपाली संघले स्वागत गरेको छ ।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले सरकारको निर्णयको स्वागत गर्दै प्रभावकारी कार्यान्वयनका लागि अनुरोध गरेका छन् । अप्ठ्यारोमा परेका नेपालीलाई सुरक्षित रुपमा नेपाल फर्काउन गैरआवासीय नेपाली संघ सहजीकरणका लागि तत्पर रहेको उनले बताए ।

विश्वभर छरिएका ८० भन्दा बढी शाखामा कोभिड भाइरसले पारेको प्रभाव, राहत र उद्धारको बारेमा राष्ट्रिय समन्वय परिषदसँग छलफल गरिएको संघका महासचिव डा. हेमराज शर्माले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here