९.७ करोड जनसंख्या भएको भियतनामले एकजना नगुमाई यसरी गर्‍यो कोरोना नियन्त्रण

काठमाडौं । विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसले संसारका सयौं देशहरुलाई प्रभावित बनाएको छ ।

कयौ देशलाई कोरोना नियन्त्रणमा लिन हम्मे हम्मे परिरहेको बेला आफूलाई समाजवादी देश भन्न रुचाउँने भियतनाम भने एक जनाको पनि ज्यान नगुमाई कोरोना नियन्त्रणमा लिएको छ ।

कुल ९ करोड ७० लाख जनसंख्या भएको भियतनाममा अहिलेसम्म कोरोनासँग सम्बन्धित कुुनै पनि मृत्युुको घटना देखिएको छैन ।भियतनाममा धेरैजसो जनसंख्या न्यून मध्यम वर्गका छन् ।

त्यहाँको स्वास्थ्य सेवा अमेरिका, यूरोपजस्ता विकसित राष्ट्रभन्दा कमजोर नै छ । तर पनि त्यहाँ कोरोनाको त्रास फैलिएको छैन् ।

आइतबारसम्म सम्म त्यहाँ केवल ३२८ जना संक्रमित भेटिएका छन् । भने २७९ निको भएर फर्किसकेका छन् । भियतनामले कोरोना विरुद्धको लडाईमा सावधानीका कारण सफलता हासिल गरेको हो ।

उसले सुरुमै तीन हप्ताका लागि लकडाउन घोषणा गर्‍यो । अप्रिलको अन्तिममा देशको अवस्था समीक्षा गरेर लकडाउन हटाइदिएको छ । लकडाउन हटाएपछि ४० दिनसम्म कुनै संक्रमण भेटिएन ।

व्यापार, व्यवसाय र स्कुुलहरु पुुनः खुुल्ला गरिएका छन् र आम जनजीवन फेरि सामान्यतर्फ अग्रसर भइरहेको छ ।

यो एकदमै सुरुवाती अवस्थाको कुरा हो जतिबेला विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने पुष्टि गरेको थियो ।

जतिबेला नेपालमा पर्यटन वर्षको तयारी भइरहेको थियो, त्यतिबेला त्यहाँ सावधानीका सबै उपायहरु अपनाइएको थियो ।

उसले विश्व स्वास्थ्य संगठनको निर्देशन पनि कुरेन । तापक्रम अलिकति बढी भेट्नासाथ उसले नागरिकलाई १४ दिनसम्म अनिवार्य क्वारेन्टिमा राख्न थालिहाल्यो ।

उसले जनवरीको अन्तिमबाट नै चीनसँग सम्पर्क तोडिसकेको थियो । किनकि भियतनाममा पहिलो केस २३ जनवरीमा देखिइएको थियो । यसपछि देशका सबै सीमा नाका बन्द भए । विमानस्थल बन्द गरिए र हरेक स्थानमा थर्मल स्क्रिनिङ अनिवार्य गरियो ।

तर केहीलाई भने भियतनाम सरकारको यो आधिकारिक आँकडा माथि आशंका पनि हुुन सक्छ । विश्व बैंकका अनुसार भियतनाममा १० हजार नागरिकलाई ८ डाक्टर उपलब्ध छन् ।

देशमा रहेका ६३ वटा प्रान्तीय, ७०० वटा जिल्लास्तरीय र ११ हजारवटा सामुुदायिक रोग नियन्त्रण केन्द्रहरुबाट संक्रमितहरुको कन्ट्रयाक ट्रेसिङ गरिएको थियो ।

संक्रमितहरुलाई उनीहरुले बितेको १४ दिनभित्र भेटेका सबै जनाको सूचि बनाउन लगाइएको थियो । कोरोना संक्रमितहरु कहिले र कहाँ कहाँ देखिएका थिए भन्ने जानकारी दिन टिभी र पत्रपत्रिकामा सूचनाहरु जारी गरिएका थिए ।

लगातार उच्च आर्थिक वृद्धि हासिल गर्न सक्ने देश

भियतनाम पछिल्लो समय लगातार उच्च आर्थिक वृद्धि हासिल गर्न सक्ने देश बनेको छ । सन् १९९२ देखि १९९७ सम्म भियतनामको आर्थिक वृद्धिदर लगातार ८ प्रतिशतभन्दा बढी थियो । विगत ४ वर्षयता पनि भियतनामले ६ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धिदर हासिल गर्दै आएको छ ।

विश्वभर खपत हुने कफीको १६ प्रतिशत उत्पादन गर्ने भियतनाम काजु उत्पादनमा पनि विश्वकै अग्रणी देश हो ।

भियतनामले विश्वभर खपत हुने काजुको ३७ प्रतिशत उत्पादन गर्छ । ९४ प्रतिशत साक्षरता दर रहेको भियतनाम आफ्ना नागरिकालाई रोजगार दिने देशमा अग्रणी स्थानमा पर्छ ।

भौतिक विकासमा पनि भियतनाम उत्कृष्ट देखिएको छ । भियतनामले मान्छेको हातमा थामिएको डिजाइनमा बनाएको दान्या दान्याङको सुन्दर पुललाई सुनको डोरी नाम दिएको छ ।

भगवान्ले थामेको भनिने यो पुल १ सय ५० मिटर लामो छ । यो पछिल्लो समय भियतनामले भौतिक पूर्वाधारमा गरेको विकासको नमुना बनेको छ ।

भियतनामले सन् २००६ मा लगानीसम्बन्धी कानुन पास गरेसँगै विश्व व्यापार संगठनले भियतनाम विदेशी लगानीका लागि उपयुक्त देश रहेको घोषणा गरेको थियो ।

सन् १९८६ र १९८७ मा बाहेक भियतनामको कुल गार्हस्थ्य उत्पादन बर्सेनि ५ प्रतिशतभन्दा माथि छ । बिजनेस मनिटर इन्टरनेसनलले भियतनामलाई राजनीतिक र नीतिगत स्थिरता भएको देशको सूचीअन्तर्गत दोस्रो स्थानमा राखेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here