लक्षणको आधारमा कोरोना संक्रमितलाई अस्पताल भर्ना गरिने, लक्षण नदेखिएका घरमै

फाइलफोटो

काठमाडौं, २० जेठ । सरकारले कोरोना भाइरसको संक्रमितहरुको वर्गीकरण गर्ने भएको छ।

पछिल्लो केही दिन यता संक्रमितको संख्या बढेसँगै अस्पतालमा आइसोलेसन बेडको अभाव हुन थालेपछि सरकारले संक्रमितको वर्गीकरण गर्ने तयारी थालेको हो ।

कोरोना भाइरसका संक्रमित र बिरामी छुट्याइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयारी थालेको हो ।

अहिलेसम्म धेरैजसो संक्रमितको आइसोलेसनमा राखेर उपचार भइरहेको छ।

देशभरका अस्पतालमा १६ सय संक्रमित मात्रै अट्ने पूर्वाधार तयार पारिएको छ। तर सोमबार कोरोना संक्रमितको संख्या २३९ ले बढेर १८११ पुगिसकेको छ।

यस्तो अवस्थामा व्यवस्थापनमा चुनौती देखेपछि सरकारले लक्षण नै नदेखिएका संक्रमितलाई क्वारेन्टाइनमै राख्ने निर्णय लिन लागेको हो।

स्वास्थ्य मन्त्रालयले एक महिनाअघि नै संक्रमित संख्यालाई मध्यनजर गर्दै संक्रमितको उपचार कसरी गर्ने भनेर कार्यदिशा तय गरेको थियो।

सो कार्यदिशामा संक्रमित संख्यालाई चार वटा समूहमा वर्गीकरण गरी कसरी उपचार गर्ने भन्ने उल्लेख छ।

जसअनुसार सुरूका २ हजार संक्रमित सबैलाई अस्पतालमै भर्ना गरेर उपचार गर्ने भन्ने उल्लेख छ।

अहिलेसम्म कोरोनाको लक्षण देखिएको भनेको स्वासप्रस्वासमा समस्या आउने, ज्वरो आउने, छाती दुख्ने, शरीर थकित महशुस हुने, स्वाद र गन्ध थाहा नपाउने आदि हो।

तर नेपालमा केही संक्रमितमा वान्ता गर्ने समस्या पनि देखिएको छ। अब यस्ता लक्षण नभएका र सामान्य अवस्थामा रहेका संक्रमितलाई घरमै आइसोलेसनमा राख्ने सरकारले तयारी गरेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here