कोरोना बीमा गर्ने बढेपछि कम्पनी जोखिममा, पुनर्बिमा पाउनै गाह्रो

काठमाडौं २२, जेठ । करिब दुई महिनाको अवधिमा कोरोना बीमा गर्नेको संख्या निकै धेरै भएपछि निर्जीबन बीमा कम्पनीको जोखिम बढेको छ ।

बीमा गर्नेको संख्या बढेपछि कम्पनीहरुको पुँजीभन्दा दायीत्व धेरै भएर कम्पनीको जोखिम बढेको हो ।

हाल सम्म भएको बीमाको दायीत्व गणना गर्दा २० वटा निर्जीबन बीमा कम्पनी र नेपाल पुनर्बिमा कम्पनीको पुँजीभन्दा बढी पुगेको छ । यही अवस्थामा कोरोनाका बिरामी थपिने क्रम उच्च छ । यसले झन जोखिम बढाएको जानकारहरु बताउँछन् ।

जोखिम सुरक्षणका लागि विदेशी पुनर्बिमा कम्पनीको खोजी भइरहे पनि अझै भेटिएको छैन । कोरोना बीमालेख धेरै राष्ट्रमा नभएकाले विदेशी पुनर्बिमाले बीमा गर्न नमानेको बुझिएको छ ।
यसकारण पछिल्ला दिनहरुमा कम्पनीहरुले उत्साहका साथ बीमा गर्न छोडेका छन् ।

आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले एक लाख रुपैयाँसम्मको सामुहिक कोरोना बिमा शुल्कमा ५० प्रतिशत अनुदान दिने तथा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका लगायतको बिमा शुल्क सरकारले व्यहोर्ने व्यवस्था घोषणा गरेको छ । उक्त घोषणा आगामी आर्थिक वर्ष देखि मात्र लागु हुने हो ।

गत मंगलबारसम्म २ लाख ९६ हजार ६ सय १६ जनाले कोरोना बिमा गरेका छन् । उक्त बिमामा १६ करोड २२ लाख ३७ हजार रुपैयाँ बिमा शुल्क संकलन भएको छ । सो अवधिमा २५ हजार ४ सय ५० वटा बिमालेख विक्री भएको बिमा समितिले जनाएको छ । सञ्चालनमा रहेका २० निर्जीवन बिमा कम्पनीले उक्त बिमालेख विक्री गरिरहेका छन् ।

कोरोना बिमालेखमा एक लाख र ५० हजार गरी दुई प्रकारको बिमांक तोकिएको छ । व्यक्तिगत, सामुहिक (परिवार, कार्यालयका कर्मचारी आदि) रुपमा पनि यो बिमा गर्न सकिन्छ ।

एक लाख रुपैयाँको बिमाका लागि व्यक्तिले एक हजार रुपैयाँ प्रिमियम (बिमा शुल्क) तिर्नुपर्छ । तर, सामुहिक रुपमा घर परिवार वा कार्यालयका कर्मचारीको बिमा गर्दा प्रतिव्यक्ति ६ सय रुपैयाँ तिरे पुग्छ ।

यस्तै, ५० हजार रुपैयाँ बिमांक रहेको बिमांकका लागि बिमा गर्दा प्रतिव्यक्ति ५ सय र सामुहिक रुपमा प्रतिव्यक्ति ३ सय रुपैयाँमा बिमा गर्न सकिन्छ । ३ महिनाको बच्चा देखि ९९ वर्ष उमेर समूहका व्यक्तिका लागि यी बिमा गर्न सकिन्छ ।

अस्पतालबाट कोरोना संक्रमण भएको पुष्टी भएलगत्तै दाबी भुक्तानी पाइन्छ । तर, बिमा गरेको १५ दिनपछि मात्र उक्त बिमा सक्रिय (एक्टिभ) हुने कम्पनीहरुले जनाएका छन् । सो अवधिलाई प्रतिक्षा अवधि भनिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here