सगरमाथा आरोहीका साथमा अनाधिकृत ड्रोन

काठमाडौं, ११ बैशाख । सगरमाथासहित हिमाल आरोहणमा जाने पर्वतारोहीले अनाधिकृत रुपमा ड्रोन लैजाने गरेको खुलेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागका अनुसार सन् २०१९ को वसन्त ऋतुमा विभागबाट पर्वतारोहणका लागि आरोहण अनुमति लिई गएका पर्वतारोहीबाट अनुमति नलिई ड्रोन प्रयोग गरेको भेटिएको हो ।

ड्रोन प्रयोग सम्बन्धी नेपाल सरकारको अनुमति नलिई प्रयोग गरिएका र हिमालतर्फ लैजान लार्गिका ड्रोन सगरमाथा निकुन्जले धमाधम जफत गरिरहेको विभागले जानकारी दिएको छ । अनुमति बीना कुनै पनि ड्रोनलाई हिमाल लैजान नदिइने निकुन्जले स्पष्ट पारेको छ ।

अनुमति नलिइ हिमालतर्फ ड्रोन लैजान नहुनेबारे पर्वतारोहीलाई सुसुचित गर्न विभागले ट्राभल, ट्रेकिङ तथा पवर्तारोहण एजेन्सीलाई सचेत समेत गराएको छ । आरोहण लिएका पर्वतारोहीले अनाधिकृत ड्रोन प्रयोग गरेको पाइए पर्वतारोही र कम्पनी दुबैमाथि कारवाही हुने चेतावनी समेत विभागले दिएको छ ।

नेपालमा केवल भ्रमणको उद्देश्यले मात्र ड्रोनको प्रयोग अनुमति तीन वटा निकायले दिने गर्छन् । सामान्य ड्रोनको अनुमति पर्यटन विभागको सिफारिसमा गृह मन्त्रालयमा लिए पुग्छ ।

२ किलो भन्दा बढी तौल तथा २०० फीटभन्दा माथिसम्म उड्ने ड्रोनको अनुमति नेपाल नागरिक उड्डयन प्राधिकरणबाट लिनुपर्छ । यदि कुनै अध्ययन अनुसन्धानको प्रयोजनका लागि ड्रोन उडाउने हो भने सम्बन्धित क्षेत्रको नियमन गर्ने निकाय मन्त्रालयबाट उडान अनुमतिको सिफारिस लिनुपर्छ ।

त्यसपछि पर्यटन विभाग र गृहको अनुमति लिएपछि मात्र ड्रोन उडाउन पाइन्छ । ड्रोन उडाउन अनुमति लिने व्यक्ति त्यसको संचालनमा पनि दक्ष हुनुपर्छ । हवाई उडान हुने क्षेत्रमा ड्रोन उडानको अनुमति छैन ।

सार्वजनिक स्थानमा ड्रोन उडाउनु परे स्थानीय सुरक्षा निकायसँग समन्वय गर्नुपर्छ । ड्रोन उडानका कारण हुने दूर्घटनाबाट कसैमाथि क्षति पुग्न गए त्यसको दायित्व ड्रोन संचालकबाटै बेहोर्नुपर्ने प्रावधान रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here