आन्तरिक उडानको भाडादर घट्यो, लकडाउन सहज हुनासाथ उड्ने तयारीमा कम्पनीहरु

विमानस्थल प्रवेशद्वार

काठमाडौं, २५ जेठ । लकडाउनका कारण आन्तरिक उडानहरु पूर्ण प्रभावित भए पनि वायुसेवा कम्पनीहरुले भाडा घटाएका छन् ।

हवाई इन्धनको मूल्य रु. १५ घटेको र सरकारले ल्याएको बजेटमार्फत पूर्वाधार कर रु. १० हटेको कारणले भाडादर कम गरिएको वायुसेवा संचालक संघले जनाएको छ ।

संघका अनुसार हवाई दुरी अनुसार नेपाली यात्रुको हकमा अधिकतम रु. १ हजार १ सय ५ देखि न्यूनतम रु. २ सय २५ सम्म हवाई भाडा घटेको छ । काठमाडौंबाट सबभन्दा बढी धनगढी र कम सिमरामा हुने गर्छ ।

कम्पनीहरु लकडाउनपछि उडान सूचारु गर्न पूर्वतयारीको कामलाई समेत तिव्रता दिएको बताइएको छ । लकडाउनमा केही जहाज उडे पनि तिनीहरुको नियमित मर्मतसम्भार तथा परीक्षणको काम जारी रहेको छ ।

कोभिड–१९ पछि संक्रमणबाट सुरक्षित रहनका लागि नागरिक उड्डयन प्राधिकरणले दिएको गाईडलाइन अनुसार कम्पनीहरुले ‘सुरक्षा निर्देशिका’ बनाएका छन् ।

सुरक्षा निर्देशिकामा यात्रु, कर्मचारी, जहाजहरुको विशेष सरसफाई, र्याम्प बस, कार्गो, ट्रली, विभिन्न काउण्टर तथा कार्यस्थललाई कसरी सुरक्षित राख्ने उल्लेख रहेको छ । सुरक्षा निर्देशिका अनुसार आफ्ना कर्मचारीहरुलाई आगामी साताबाट तालिम प्रदान गर्ने तयारीमा कम्पनीहरु रहेका छन् ।

अब काठमाडौंबाट हुने माउन्टेन फ्लाइट ८ सय ६० रुपैयाँ सस्तो हुनेछ । भरतपुर, पोखरा र विराटनगरको भाडा क्रमशः २ सय ७०, ३ सय ९५ र ६ सय रुपैयाँले कम भएको छ ।

जनकपुरमा ३ सय २०, सिमरामा २ सय २५, भैरहवामा ५ सय १५, धनगढीमा १ हजार १ सय ५ र नेपालगन्जमा ८ सय १५ रुपैयाँ भाडा घटेको छ । काठमाडौंबाट भद्रपुरमा ७ सय १५ रुपैयाँ कम भएको संघले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here