मौद्रिक नीतिका लागि राष्ट्र बैंकले माग्यो सुझाव, यसरी पठाउनुहोस्

काठमाडौं, २६ जेठ । नेपाल राष्ट्रबैंकले आर्थिक वर्ष २०७७/७८ का लागि मौद्रिक नीति बनाउने गृहकार्य थालेको छ ।

जेठ १५ गते प्रस्तुत गरेको बजेटमा आधारित रही राष्ट्रबैंकले मौद्रिक नीति बनाउने गृहकार्य थालेको हो ।

बैंकले सूचना जारी गरि मौद्रिक नीतिमा राय/सुझाव दिन आग्रह गरेको छ । राष्ट्र बैंकले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटलाई आधार मानेर मौद्रिक नीति ल्याउनु पर्छ।

केन्द्रिय बैंकले कोभिड—१९ महामारीले पार्न सक्ने थप प्रभावलाई समेत ध्यानमा राखी अर्थतन्त्रलाई पुनरुत्थान गर्न नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेटसँग सामञ्जस्यता कायम हुने गरी वार्षिक मौद्रिक नीति ल्याउनेछ।

केन्द्रिय बैंकले कोरोना महामारीबाट प्रभावित अर्थतन्त्रलाई पुनरुत्थान गर्न सहयोग पुग्ने गरी तरलता व्यवस्थापन गर्दै ब्याजदरलाई उपयुक्त स्तरमा राख्ने र प्राथमिकताप्राप्त क्षेत्रतर्फ कर्जा प्रवाह प्रोत्साहित गर्नेतर्फ मौद्रिक नीति केन्द्रित रहने जनाएको छ।

बैंकको इमेल ठेगानामा मेल गरेर, टेलिफोन नम्बरमा फोन गरेर वा फ्याक्स गरेर समेत मौद्रिक नीतिका लागि सुझाव पठाउन सकिने केन्द्रीय बैंकले जनाएको छ ।

सरकारले बजेटमार्फत आगामी आर्थिक ७ प्रतिशत बढीको आर्थिक वृद्धिदरको महत्वकांक्षी लक्ष्य राखेको छ । यसपटकको मौद्रिक नीतिमा बजेटले गर्न नसकेको सम्बोधन गर्ला र केही राहातको महसुस गर्न सकिएला भन्ने आशामा सेयर लगानीकर्ताहरु पनि छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here