बैंकमै थुप्रियो पैसा, १ खर्ब २७ अर्ब निक्षेप संकलन हुँदा ऋण लगानी ११ अर्ब

काठमाडौं, २६ जेठ । कोरोनाको जोखिमबाट बच्न सरकारले गरेको लकडाउन अवधिमा बैंक तथा वित्तीय संस्थामा १ खर्ब २७ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार यो लकडाउन शुरु भएदेखि यता जेठ २४ गतेसम्मको अवधिमा ‘क’ वर्गका वाणिज्य बैङ्क, ‘ख’ वर्गका विकास बैङ्क र ‘ग’ वर्गका फाइनान्स कम्पनीको बैंकिङ प्रणालीमा संकलन भएको निक्षेप हो ।

निक्षेप संकलन बढे पनि कर्जा लगानी भने ह्वात्तै घटेको छ । करिब २ महिनाभन्दा लामो समयमा जम्मा ११ अर्ब रुपैयाँमात्रै ऋण लगानी भएको राष्ट्र बैंकले जनाएको छ ।

चैत दोस्रो सातासम्म बैंक तथा वित्तीय संस्थाहरुमा ३५ खर्ब ९४ अर्ब रुपैयाँ निक्षेप रहेकोमा २४ जेठसम्म आइपुग्दा यो १ खर्ब २७ अर्बले बढेर ३७ खर्ब २१ अर्ब रुपैयाँ पुगेको छ ।

लकडाउन अवधिमा अत्यावश्यकबाहेक आर्थिक गतिविधि बन्द रहेको कारण पनि प्रत्यक्ष प्रभाव बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाहमा देखिएको हो ।

११ चैतसम्ममा बैंक तथा वित्तीय संस्थाहरुको ३२ खर्ब १८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए भने जेठ २४ सम्म बढेर ३२ खर्ब २९ अर्ब रुपैयाँ पुगेको छ ।

यो अवधिमा अत्यावश्यकबाहेक सबै कामकाज रोकिएकाले कर्जा प्रवाह नभएको राष्ट्र बैंकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here