अब कोरोना लक्षणविहीन व्यक्तिको नमूना आएपनि परीक्षण नगर्ने

काठमाडौं, २७ जेठ । अब कोरोना लक्षणविहीन व्यक्तिको नमूना आएपनि परीक्षण नहुने भएको छ ।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा.रुना झालेको अनुसार कोरोना संक्रमितको सम्पर्कमा आएका वा लक्षण देखिएका व्यक्तिहरुको मात्र स्वाब परीक्षण गरिने छ ।

पछिल्लो समय अत्यधिक परीक्षणको चाप बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले क्वारेन्टिन र होल्डिङ सेन्टरमा रहेका कोरोना भाइरस लक्षण नदेखिएको व्यक्तिको पीसीआर विधिबाट नगर्ने यसअघि नै जनाएको थियो ।

स्वास्थ्य मन्त्रालयले जारी गरेको ‘कोभिड परीक्षण राष्ट्रिय निर्देशिका २०१९’ अनुसार नै लक्षण देखिएका र संक्रमितका सम्पर्कमा आएकाहरुको मात्र कोरोना परीक्षण गरिने तयारी सरकारले थालेको हो ।

नयाँ निर्देशिकामा सरकारले परीक्षणको लागि तीन वटा प्राथमिकता तय गरेको छ।

पहिलो आइसोलेसनमा रहेका, संक्रमणको जोखिमयुक्त ठाउँबाट आएका र संक्रमितसँगको सम्पर्कमा आएकाको परीक्षण गर्ने भनिएको छ।

जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डेको अनुसार नेपालमा कोरोनाभाइरसको संक्रमण ८० प्रतिशतमा बिनालक्षण देखिएको छ ।

कतिपयलाई सुरुमा लक्षण नदेखिएर एकैपटक गम्भीर समस्या देखिएर मात्र लक्षण देखिन सक्ने विज्ञको दाबी छ । हाल देशका २१ वटा पीसीआर मेसिनबाट नमुना परीक्षण भइरहेको छ ।

रुखाघोकी लाग्ने, १ सय ४ डिग्रीभन्दा बढी ज्वरो आउने, सास फेर्न ग्राहो हुने, स्वाद थाहा नपाउने, थकाइ लाग्ने कोरोना भाइरस संक्रमण पछि देखिने लक्षणहरु हुन् ।

तर नेपालमा संक्रमितमध्ये झण्डै ९५ प्रतिशतमा त्यस्ता लक्षण नदेखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

संक्रमितमध्ये पाँच प्रतिशतमा लक्षणसहित मुटुरोग, उच्च रक्तचाप, दम लगायतका अरु पनि समस्या रहेको पाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here