असार १ देखि होम स्कुलिङबाटै विद्यार्थीको सिकाइमा निरन्तरता, एसइई टुंगो केहि दिनमै

काठमाडौं, २७ जेठ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आगामी असार १ देखि सबै विद्यालयमा सिकाइलाई निरन्तरता दिइने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा ‘विनियोजन विधेयक २०७७’ अन्तर्गतको छलफलमा जवाफ दिँदै मन्त्री पोखरेलले सम्भव भएसम्मका प्रविधिको प्रयोग गरेर असार १ गतेदेखि होम स्कुलिङ सुरू हुने जानकारी दिए।

उनले प्राप्त सुझावबमोजिम सिकाइ सहजीकरणसम्बन्धी निर्देशिका जारी गरी असारदेखि अनलाइन, दूरशिक्षा, रेडियो, टेलिभिजन वा अन्य विकल्पबाट पठनपाठन सञ्चालन गर्न सङ्घ, प्रदेश र स्थानीय तहका सरकारबीच समन्वय भएको स्पष्ट गरे । ‘घर नै लघु विद्यालय बनेको छ। इन्टरनेटबाट सिक्ने बानीको विकास भएको छ,’ उनले भने।

अब वैकल्पिक शिक्षा, खुला तथा दूर र अनौपचारिक शिक्षा ल्याउन प्रेरित भएको पनि उनले बताए।

उनले कक्षा १०, ११ र १२ तथा विभिन्न विश्वविद्यालयमा स्थगित परीक्षा उपयुक्त समयमा सुरू गरिने बताए। लकडाउनको मोडालिटी आएपछि एसईईलगायत परीक्षा कहिले गर्ने टुंगो लाग्ने बताएका छन्।

उनले औपचारिक शिक्षाको विकास हुँदै आएकामा अहिलेको महामारीले स्वाध्ययन र प्रविधिमैत्रीतर्फ रुपान्तरण भएको उल्लेख गर्दै शैक्षिक क्षतिलाई न्यूनीकरण गर्नका लागि परिवेशअनुसार हुने गरी सिकाइअनुकूल गराउन कम सुविधा र फरक क्षमता भएका वर्गलाई समेत सम्बोधन हुने गरी निर्देशिका ल्याइएको जनाए ।कोरोना रोकथामका लागि गत चैत ११ देखि बन्दाबन्दी लागू भएपछि सबै शिक्षण संस्था र परीक्षा रोकिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here