लिंकरोड जोगबनी-किमाथांका सडक निर्माणमा ३ अर्ब खर्च

काठमाडौं, २८ जेठ । प्रदेश नं १ को मुख्य व्यापारिक मार्गको त्रिदेशीय लिंक रोड जोगबनी–किमाथांका सडक जोडिन १४ किलोमिटर मात्र बाँकी छ ।

नेपाल सरकारको राष्ट्रिय गौरवको आयोजना किमाथांका–जोगवनी सडकखण्डको काम भइरहेको उत्तर दक्षिण सडक डिभिजन कार्यालय सङखुवासभाका प्रमुख गौतमकुमार श्रेष्ठले जानकारी दिए ।

किमाथांका– चेपुवा –हटिया, –मकालु गापा– चिचिला गापा– खाँदबारी नपा– धर्मादेवी नपा– धनकुटा महालक्ष्मी नपा– पाख्रीबास नपा– धनकुटा नपा– शहीदभूमि नपा– भेडेटार– सुनसरी धरान– इटहरी विराटनगर हुँदै जोगवनी नाकासम्मको दूरी ३९० किलोमिटर छ । सो सडक चीन र भारत जोडिने छोटो सडक हुने छ ।

त्रिदेशीय लिकंरोड किमाथांका–जोगवनी सडकखण्डको भीर फुुटाउने जिम्मा सेनालाई दिइएको छ । विसं २०७६ भदौ २२ गतेको मन्त्रिपरिषद्को बैठकले किमाथांका–जोगवनी सडक खण्डको भीर फुटाउने जिम्मा सेनालाई दिइएको कोशी सडक आयोजना प्रमुख श्रेष्ठले बताए ।

त्यस क्षेत्रमा ठूल्ठूला चट्टान भएका सडक निर्माणको प्रक्रिया सेनाले अघि बढाएको छ । भीर फुटाउनका लागि आवश्यक विस्फोटक पदार्थ राख्ने बङ्कर बनाउने कार्य अन्तिम चरणमा पुगेको प्रमुख श्रेष्ठले बताए। खाँदबारी–किमाथांका १६२ किमी साधारण मार्ग निर्माणको काम सम्पन्न गर्ने जिम्मेवारी उत्तर–दक्षिण कोशी सडक आयोजनाले पाएको छ ।

सडक आयोजना प्रमुख श्रेष्ठका अनुसार चेपुवा, छुमसुर, घोङ्गोप्पा खण्ड निर्माणका लागि विस्फोटक पदार्थ आवश्यक पर्ने छ । कडा चट्टान भएको भीरको सो १४ किलोमिटर सडकखण्ड विस्फोट गरेर मात्रै अघि बढ्न सकिन्ने उनको भनाइ छ । सडकखण्ड निर्माणका क्रममा ३ अर्ब खर्च भइसकेको छ ।

उत्तर दक्षिण (कोशी) सडक आयोजनाले खाँदबारी–किमाथांका सडकको स्तरोन्नतिको कार्य गरिरहेको छ । आयोजनाले भोटखोला गाउँपालिका–४ को वरुण र मकालु गाउँपालिकाका विभिन्न स्थानमा आधा दर्जन पक्की पुलको काम भइरहेको सडक आयोजना प्रमुख श्रेष्ठले बताए।

सडक निर्माण भइसकेका स्थानमा हिउँदका बेला वरुण दोभानसम्म साना सवारीसाधन र ट्रयाक्टर चलिरहेका छन् । पहिले तीन दिन लगाएर खाँदबारी पुग्ने भोटखोलाबासी अहिले गाडीमा १२ घण्टामै पुग्ने गरेका छन् ।

उत्तर–दक्षिण सडकको ट्रयाक खन्न खण्डखण्ड ठेक्का लगाइएको छ । समयमै काम सकिए किमाथांका चीनसँग जोडिने अन्य ६ नाकाभन्दा सहज हुनेछ । अहिले उत्तर–दक्षिण कोशी सडक आयोजनाले किमाथांका–हटिया र खाँदबारी–हटिया गरी दुईतर्फबाट निर्माण गरिरहेको छ । यो खण्डको दूरी १४ किमी छ । खाँदबारीबाट खनिएको सडक पनि चेपुवासम्म पुगेको छ । त्यहाँसम्म ७८ किमी सडक निर्माण भएको हो ।

आयोजनाले हटियाबाट हाङ्दाक खोलासम्म २१ किमीको काम पनि गरिरहेको छ । सो मार्गमा १० किमी निर्माण भइसकेको आयोजनाले जनाएको छ । किमाथांकाबाट छुमसुरतर्फ पनि ढुङ्गे गोप्तासम्म १४ किमी कच्ची सडक निर्माण भइसकेको छ । सो खण्ड पूरा भएपछि किमाथांका–विराटनगर सडक जोडिन्छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here