मन्त्रिपरिषद्को बैठक ५ बजेलाई सर्‍यो, लकडाउनको स्वरूप बदल्ने तयारी

काठमाडौं, २८ जेठ । लकडाउनको स्वरूप फेर्न मन्त्रिपरिषद्को बैठक बस्दै छ । दिउँसो २ बजे बोलाइएको बैठक साँझ ५ बजेको लागि सारिएको छ ।

वैठकले असार १ गतेदेखि लागू हुनेगरी लकडाउनको अहिलेको स्वरूप बदल्ने तयारी थालेको हो ।प्रधानमन्त्री केपी शर्मा ओलीले जनजीवन सहज बनाउन लकडाउनको मोडालिटी हेरफेर गरिने संकेत अघि नै सदनमा गरिसकेका छन् ।

उनले लकडाउनलाई कायमै राखिने र जनजीवन सहज बनाउन मोडालिटी हेरफेर गरिने बताएका थिए ।

कोरोना रोकथामका लागि गत चैत ११ गतेदेखि देशव्यापी लकडाउन घोषणा गरिएको छ। सरकारले पछिल्लो पटक थप गरेको लकडाउनको अवधि जेठ ३२ गते सकिँदैछ । एकातिर कोरोना संक्रमण दिनादिनु बढिरहेको छ भने अर्कोतिर लामो लकडाउनले व्यापारव्यवसायसँगै जनताको सामान्य जीवनयापन पनि प्रभावित हुनुका साथै दैनिक गुजारामै समस्या देखिन थालेको छ ।

उच्चस्तरीय समितिले लकडाउन खुकुलो बनाउने प्रस्तावसहितको नयाँ मोडालिटी तयार पारेर मन्त्रिपरिषदमा बुझाइसकेको छ। उक्त मोडालिटीअन्तर्गत दुई सातामा एक चरण गरी पाँच चरणमा लकडाउन क्रमशः खुकुलो बनाउँदै लैजान प्रस्ताव गरिएको छ।

सीसीएमसीले तयार पारेको योजनामा असार १ गतेपछाडि आंशिक रूपमा हवाइ उडान सुरु गर्न प्रस्ताव गरिएको छ । पहिलो चरणमा कृषि उत्पादनसँग जोडिएका क्षेत्र खुकुलो बनाइनेछ । गृह र स्वास्थ्य मन्त्रालयको प्रोटोकल पालना गर्दै आंशिकरूपमा दूध, दुग्ध पदार्थ, तरकारी फलफूलको बिक्री वितरण सुरु गर्ने दिइने छ । सामाजिक दूरी कायम गर्दै खेतीपातीको काम पनि खुला गरिनेछ ।

त्यस्तै, दैनिक उपभोग्य सामग्री बिक्री वितरण गर्ने केन्द्रहरू, डिपार्टमेन्टल स्टोर, किराना पसल, खाद्य भण्डारण केन्द्र, पानी–ग्यास डिपोहरू पनि आंशिक रूपमा खुला गरिने सीसीएमसीको योजनामा छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भने देशमा कोरोना संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै गएकोले जोखिम कम भइनसकेको ठहर गर्दै लकडाउन खुकुलो बनाउनु नहुने अडानमा नै रहेका स्रोतले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here