विदेशमा अलपत्र नेपाली ल्याउने समय तालिका सार्वजनिक, कहाँबाट कहिले ?

काठमाडौं, २९ जेठ । सरकारले विदेशमा अलपत्र नेपालीलाई प्राथमिकताका आधारमा उद्दार गर्नका लागि उडान तालिका सार्वजनिक गरेको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उडानको मिति र भाडा दर तोकेको हो। विदेशका नेपालीहरुलाई राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र विदेशी जहाजहरुले उद्धार गर्नेछन् ।

पहिलो चरणको प्राथमिकतामा परेका ३० देशका २४ हजार १४८ नेपाली स्वदेश फिर्तीका लागि संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तालिका तयार पारेर कोरोना व्यवस्थापन केन्द्र सिसीएमसीलाई बुझाएको छ ।

मन्त्रालयले सीसीएमसीलाई उपलब्ध गराएको तालिका अनुसार जेठ २९ गतेदेखि असार ११ गतेसम्म पहिलो चरणको उडान तालिका बनेको छ ।

३० देशबाट नेपालीलाई ल्याउन ६७ वटा उडान हुने भएको छ । त्यसका लागि नेपाल एयरलाइन्सले २४, हिमालय एयरलाइन्स १९ र विदेशी जहाजले २४ वटा उडान भर्नेछन् ।

बिहीबार कुवेतबाट फ्लाइटबाट करिब ३ सय महिला श्रमिक फर्किंदै छन् । कुवेतमा आममाफी पाएर आश्रय क्याम्पमा बसिरहेका महिलालाई कुवेतले काठमाडौं ल्याइदिन लागेको हो ।

सरकारको निर्णयअनुसार जेठ २९ गते कुवेतबाट दुई उडान हुने छन्। त्यस्तै जेठ ३२ मा बंगलादेश, असार १ मा माल्दिभ्स, मलेसिया, साउदी अरब, सिंगापुर, कम्बोडिया र ओमनबाट हुने छन्।

त्यस्तै, असार २ मा संयुक्त अरब इमिरेट्स, कतार, कुवेत, श्रीलंका र माल्दिभ्समा उडान हुने छ। असार ३ मा अष्ट्रेलिया, थाइल्यान्ड, बहराइन, बंगलादेश, कतार र संयुक्त राज्य अमेरिकामा उडान हुने छ। असार ४ मा साउदी अरब, संयुक्त अरब इमिरेट्स, मलेसिया र ओमन उडान हुने छ। असार ५ मा जापान, कुवेत, साउदी अरब र नाइजेरिया उडान हुने छ।

असार ६ मा साइप्रस, मलेसिया, कतार, संयुक्त अरब इमिरेट्स, बंगलादेश र युरोपियन युनियनबाट नेपालीको उद्धार उडान हुने छ।

असार ७ मा दक्षिण कोरिया, ओमन, कुवेत र मलेसिया तथा असार ८ गते अस्ट्रेलिया, बैंकक, पाकिस्तान र कतारबाट एक–एक चार्टर उडान गरेर त्यहाँबाट नेपाली ल्याइनेछ।

असार ९ गते जापान, माल्दिभ्स, यूएई र युगान्डाबाट दुई–दुई उडान हुनेछन्। असार १० गते साउदी, कुवेतबाट दुई–दुई उडान हुनेछ। त्यसैगरी असार ११ गते अमेरिका र साइप्रसबाट एक–एक उडान हुनेछन्।

यात्रुको उपलब्धताको आधारमा परिवर्तन पनि हुन सक्ने साथै ८५ प्रतिशत यात्रु भएमात्र उडान हुने पनि मन्त्रालयले जनाएको छ । यात्रुहरुले पीसीआर वा आरडीटी नेगेटिभ रिपोर्टको प्रमाणपत्र पेश गर्नुपर्ने छ । नेपाल आएपछि सरकारले तोकेको नियम अनुसार क्वारेन्टिन बस्नु पर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here