खुकुलो लकडाउनमा कोरोना संक्रमणबाट कसरी बच्ने ? जनस्वास्थ्य विज्ञको २० टिप्स

फाइलफोटो

काठमाडौं । उच्चस्तरीय समन्वय समितिको प्रस्ताव पाँच चरणको प्रस्तावलाई मन्त्रिपरिषदको बैठकले तीन चरणमा झार्दै लकडाउन खुकुलो बनाउने निर्णय गरेको हो ।

पहिलो चरणमा विहिबारदेखि अत्यावश्यक सेवासहितका विभिन्न २१ क्षेत्र खोल्ने निर्णय गरेको छ ।

खुला रहने क्षेत्रहरूले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट जारी जनस्वास्थ्यसम्बन्धी मापदण्ड र गृहमन्त्रालयले जारी गरेको सुरक्षा प्रोटोकलको भने अनिवार्य पालना गर्नुपर्नेछ ।

लकडाउन खुकुलो भएपनि कोरोनाको त्रास भने उत्तिकै रहेको छ । यस्तो अवस्थामा संक्रमणबाट कसरी जोगिनेबारे जनस्वास्थ्य विज्ञ डा रबिन्द्र पाण्डेले २० टिप्स दिएका छन् ।

डा. रबीन्द्र पाण्डे
जनस्वास्थ्य विज्ञ

१. लकडाउन खुकुलो भएपनि अत्यावश्यक कामबाहेक घरमै बस्नुहोला ।

२. घरबाहिर निस्कँदा सर्जिकल मास्क वा कटनको २ पत्रे मास्क सहि तरिकाले लगाउनुहोला । घरमा आएपछि त्यो मास्कलाई धोएर सुकाउने वा घाम र हावा खेल्ने ठाउँमा राख्नुहोला । मास्कले नाक र मुखमा एयर टाइट हुने गरि छोप्नुहोला । प्रयोग गरेको मास्क बाटोमा नफाल्नुहोला । सकभर चस्मा र पंजाको पनि प्रयोग गर्नुहोला ।

३. कोरोना संक्रमणको प्रमुख रोकथाम व्यक्तिगत दुरी हो । घर बाहिर निस्किएपछि बाटोमा, पसलमा, बसमा, काम गर्ने ठाउँमा, खाजा खाने ठाउँमा, सामान किन्ने ठाउँमा अर्थात हरेक ठाउँमा ६ फिटको दुरी कायम गर्नुहोला ।

४. सकभर नाक, मुख, आँखामा हात लैजाने बानी छोड्नुहोला । हरेक बस्तु छोएपछि, बाहिरबाट आएपछि, खाना खानुअघिं तथा अन्य समयमा पनि साबुनपानीले मिचिमिची हात धुनुहोला । साबुनपानी नभएको ठाउँमा ह्याण्ड स्यानिटाइजरले हात सफा गर्नुहोला ।

५. सार्वजिक यातायातमा संक्रमण सर्ने जोखिम हुने भएकोले छोंटो दुरीमा पैदल हिंड्ने बानी गर्नुहोला । भौतिक दुरी कायम हुनेगरि सवारी साधन चढ्दा मास्क, चस्मा, पंजा तथा स्यानिटाइजर अनिबार्य रुपमा प्रयोग गर्नुहोला ।

६. कोरोना संक्रमण सर्ने सबैभन्दा खतरनाक ठाउँ भीडभाड हो । भीडमा झुक्किएर पनि नजानुहोला । भौतिक दुरीको मुलमन्त्र नबिर्सनुहोला ।

७. खोकी लागेमा, हान्च्छ्युं आएमा, रुघा लागेमा तथा ज्वरो आएमा निको नहुने बेलासम्म घरबाहिर नजानुहोला । यस्तो बेला कुहिनातिर फर्केर खोक्ने, हाच्छ्युं गर्ने, टिस्यु पेपर वा सफा रुमाल प्रयोग गर्ने, अनि हात सफा गर्ने गर्नुहोला । अरु मान्छेतिर फर्केर कहिल्यै पनि नखोक्नुहोला, हाच्छ्युं नगर्नुहोला । यो बानी हामीले सुधार्नु जरुरी छ ।

८. आफुले काम गर्ने / गराउने ठाउँमा भौतिक दुरी, सरसफाई तथा भेन्टिलेसनको ब्यबस्था मिलाउनुहोला । बन्द कोठामा भाइरस लामो समयसम्म रहन्छ ।

९. सकभर खाजा घरबाटै लिएर जानुहोला । क्यान्टिन वा चियापसलको भीडबाट बच्नुहोला ।

१०. आफ्नो काम सकिएपछि सिधै घरमा फर्किने बानी गर्नुहोला ।

११. घरमा फर्केपछि मास्क, रुमाल, पंजा, चस्मा, झोला, बाहिरी कपडालाई घरबाहिर वा घरको हावा लाग्ने गल्ली, कौसीमा राख्नुहोला ।

१२. सानोतिनो समस्या भएमा अस्पताल नजानुहोला । घरेलु उपचार तथा प्राथमिक उपचारले निको नभएमा भीडभाड नहुने स्वास्थ्य संस्थामा जानुहोला । त्यहाँ ६ फिटको दुरी कायम गर्ने, मास्क लगाउने गर्नुहोला ।

१३. तरकारी,फलफूल तथा अन्य सामान किन्नको लागि सपिंग मल, डिपार्टमेन्टल स्टोरजस्ता भीडभाड हुने ठाउँभन्दा नजिकको किराना पसल रोज्नुहोला ।

१४. मानसिक तनाब न्यूनीकरण गर्ने योजना बनाउनुहोला । केहि समय हाम्रा ब्यबसाय चल्ने छैनन् वा कम चल्नेछन् । खाध्य, औषधि, स्टेसनरी, कृषि लगायतका ब्यबसाय चल्नेछन् ।

अन्य ब्यबसायमा महँगो भाडा, धेरै लगानी तथा धेरै खर्च भएमा त्यसलाई ब्यबस्थापन गर्नुहोला । आवश्यक परे पेशा परिवर्तन गर्ने यो उपयुक्त समय हो । कृषि, पशुपंक्षी पालन तथा बिबिध अर्गानिक खेती, होम डेलिभरी एबम अनलाइन बिजनेस अबका उत्कृष्ट पेशा हुनेछन् ।

१५. चुनौतीलाई स्वीकार्ने, चुनौतीलाई ब्यबस्थापन गर्ने तथा सानो उपलब्धिमा पनि सन्तोष मान्ने बानीको बिकास गर्नुको बिकल्प छैन । कोभिड पूर्वको अवस्थासंग तुलना गर्यो भने तनाब थप्ने काम हुन्छ । यो नयाँ युगलाई शुन्य मानेर काम गर्यौं भने तनाब हुनेछैन ।

१६. रोगसँग लड्ने क्षमता बढाउने उपाय गर्नुहोला । ताजा र पोषिलो खाना, खानामा मरमसला र जडिबुटीको प्रयोग, गुर्जो + तुलसी + बेसार + अश्वगन्धा मिश्रित चिया, प्रशस्त पानी, ब्यायाम, योग, ध्यान, संगीत, लेखन, पठन, प्रबचन श्रवण, तनाब न्यूनीकरण आदिबाट आफ्नो इम्युनिटी पावर बढाउन सकिन्छ । इम्युनिटी पावर बढेमा कोरोनामात्र हैन अन्य धेरै रोगबाट पनि बच्न सकिन्छ । सकारात्मक सोंच र आशाबादी गुण सुखी जीवनका अचुक औषधि हुन् ।

१७. कुनै व्यक्तिसंग प्रतिष्पर्धा, रीस, इर्श्या, मनमुटाव, नकारात्मक धारणा तथा बेइमानी कहिल्यै नगर्नुहोला । प्रत्येक व्यक्ति फरक क्षमताको हुन्छ । विनयशील, सहनशील, क्षमाशील तथा सत्यको बाटोमा हिंड्ने व्यक्ति निरोगी र दिर्घायु हुन्छ ।

१८. संक्रमित तथा मृतकको संख्या, उमेर, स्थान हेरेर चिन्तित हुने नगर्नुहोला । कोरोना आउनु पहिले सबै अस्पताल प्याक थिए, आइसीयु प्याक थिए, घाटहरु ब्यस्त थिए । जन्म, वृद्धि, क्षय ( रोग, बुढोपन ) र मृत्यु हामी सबैको जीवनमा थियो, छ र हुनेछ ।

१९. कोरोनाको कारण मात्र मृत्यु हुनेको संख्या अत्यन्तै कम छ । तसर्थ हामीले हाम्रा रोगहरु पत्ता लगाएर चिकित्सकको सल्लाह अनुसार औषधि सेवन गर्नुपर्छ । आफै जान्ने भएर, बानी पर्छ भनेर वा आफैले कन्ट्रोल गर्छु भनेर जोखिमको धारमा बस्नुहुँदैन । औषधि सेवनले हाम्रा रिपोर्ट नर्मल राख्न सक्यौं भने कोरोना संक्रमणसंग डराउनु पर्दैन ।

२०. कोरोना संक्रमण भएमा मरिन्छ भन्ने जुन धारणा छ, त्यो गलत हो । ९० % कोरोना संक्रमितलाई आफै वा सामान्य उपचारले निको हुन्छ । १० % लाई अस्पताल बस्नुपर्ने हुनसक्छ । ती मध्ये ५ % लाई आइसीयु / भेन्टिलेटर चाहिन्छ । त्यसको आधा अर्थात २-३ % को मात्र निधन हुन्छ । हाम्रो देशको मृत्युदर अहिलेसम्म ०.५ % पनि छैन । यो तथ्य हामीले बिर्सिनु हुँदैन ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here