उत्तरी सीमामा तीन पिलर मात्र गाड्न बाँकी, भारतसँग वार्ताका लागि नेगेटिभ लिष्ट बनाएर दस्तावेज संकलन

काठमाडौं, २९ जेठ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले नेपालको कुटनीतिक सम्बन्धहरु छिमेकी मुलुकहरुसँग समदूरीको नै रहने बताएकी छन् ।

प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका काम कारवाही र हालसालै नेपाल सरकारले जारी गरेको नेपालको नक्सा सम्बन्धमा आयोजना गरेको बैठकमा बोल्दै उनले भनिन्, ‘सीमासँग जोडिएका विषयमा उत्तरदक्षिण दुवैतिर सरकारले समान ढंगले नै हेर्छ ।’

अहिले भारततर्फको सीमा समस्या ज्वलन्त बनेर आएकाले दक्षिणतर्फ सरकार लागेको मन्त्री अर्यालले बताइन् । ‘आज जसरी दक्षिणतर्फको समस्या ज्वलन्त बनेर आएको छ त्यही रुपमा उत्तरतर्फ प्रकट भएको छैन । प्रकट हुँदाको दिनमा जसरी हामीले अहिले दक्षिणतर्फ लागेका छौ । उत्तरतर्फ पनि त्यसरी नै लाग्नुपर्छ ।’

उत्तरतर्फ सीमा नै यकिन गरेको ठाउँमा तीन वटा पिलर गाड्न बाँकी रहेको भन्दै उनले अरु ठाउँमा त्यस्तो समस्या नदेखिएको बताइन् ।

अत्यन्त पेचिलो बनेको सुस्ता र कालापानी क्षेत्र भएको भन्दै मन्त्री अर्यालले यी विषयहरु टुंगिएपछि अरु ठाउँका समस्याहरु पनि सरकारले समाधान गर्ने धारणा राखिन् ।

सरकारले नक्सा जारी गरेसँगै अब भूमि फिर्ता ल्याउनुपर्ने अवस्था रहेको भन्दै मन्त्री अर्यालले भारसँग वार्ताद्वारा नै यो समस्याको समाधान गरिने विश्वास व्यक्त गरिन् ।

सबै तथ्य प्रमाणहरु नेपालको पक्षमा रहेको भन्दै उनले वार्तामा बसिरहदा नेपालका विपक्षमा आउनसक्ने विषयहरुको नेगेटिभ लिस्ट बनाएर त्यसलाई काट्ने दस्ताबेजहरुको तयारी पनि गर्न आवश्यक रहेको बताइन् ।

यस्ता विषयहरु राखिरहन भनेको स्वयं भारतका निम्ती पनि नोक्सानदायक हुने भएकाले उ संवेदनशील हुनैपर्ने उनको भनाइ छ । छिमेकीको मन कुँडाएर, मन दुखाएर अनि विश्वको शक्तिशाली मुलुक बन्छु भनेर हुन्छ ? छिमेकीहरुले गिज्याइरहने, मन नपराउने कुराले उसले सफलता प्राप्त गर्न सक्दैन, उनले भनिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here