गोजीमा पैसा छैन सरकार, कसरी आउनु घर ?

टीकाराम ढकाल

विश्व नै कोरोेनाले आतंकित बनेको अवस्थामा संसारभर छरिएर रहेका नेपालीहरु पनि स्वास्थ्यको जोखिममा परेका छन् । हजारौं कोरोनाभाइरसको संक्रमणमा परेका छन् भने १ सय ३० भन्दा बढीको मृत्यु भइसकेको छ । त्यसमा पनि विशेषगरी खाडी मुलुकमा रोजगारीका लागि आएकाहरुको अवस्था निकै दयनीय छ ।

यसै बीच नेपाल सरकारले आफ्नो देश फर्काउन गरेको प्रयासले म जस्ता धेरै विदेशी भुमिमा आफ्नो पसिना बगाउन आएकाहरुलाई केही राहत महशुस गराएकोे छ ।

तर यहाँ रहेका अधिकांश नेपालीहरुको अवस्था अनुमान गर्न पनि नसकिने खालको छ । कोरोनाले गर्दा रोजगारी गुमेकोले आर्थिक अवस्था निकै दयनीय बनेको धेरैको भनाइ छ । कतिपयलाई त एक गास खान आफ्ना साथीहरुको अगाडी हात फैलाउनुपर्ने अवस्था आएको छ ।

ठीक यही बेलामा सरकारले घर फर्किनका लागि हवाइ टिकटको व्यवस्था आफै गर्नु भन्ने खबर पठाएको छ । एक छाक खान समेत अर्काको भर पर्नु परेको बेलामा हवाई जहाजको भाडा आफै तिरेर कसरी नेपाल आउनु ? त्यसमा पनि नेपाल पुगेर तारे होटलमा १४ दिनसम्म रहने त कल्पना बाहिरको कुरो हो ।

यहाँ आउने अधिकांश नेपाली घरको आर्थिक अवस्था कमजोर भएकाले दुईचार पैसा कमाउन आएका हुन् । पैसा धेरै भएर घुम्न र मोजमस्ती गर्न यता आएका हैनन् ।

यद्यपि सरकारले यो वास्तविकतालाई अनदेखा गरेर भाडा आफै तिर भन्नु गैरजिम्मेवार कुरा हो । यसले आर्थिक संकटमा बाँचिरहेका नेपाली कामदारहरुलाई मर्माहत बनाएको छ ।

म रहेको संयुक्त अरब अधिराज्यको दुबईबाट नेपाल फर्कन जहाज भाडा मात्र ६० हजारदेखि ७० हजार रुपैयाँ पर्छ । त्यस माथि नेपाल फर्किएर होटलको क्वारेन्टिनमा दैनिक कम्तिमा २ हजार रुपैयाँ तिर्न सक्ने अवस्था छैन ।

नेपाल आफ्नो युवाशक्ति निर्यात गरेर रेमिट्यान्स कमाउने र त्यसैबाट अर्थतन्त्र चलाउने देश हो । अधिकांश युवा विदेशिएका छन् जसको ठूलो हिस्सा खाडी मुलुकमा छ । करीब २५ लाख नेपाली अहिले मुलुकबाहिर रहेर काम गरिरहेका छन् । उनीहरुले करीब साढे आठ खर्ब रुपैयाँ रेमिट्यान्स नेपाल पठाउँछन् । नेपालीहरु संसारका १ सय १० मुलुकमा काम गर्नका लागि स्वीकृति पाइरहेका छन् ।

खाडी मुलुकमा रहेका मजस्ता लाखौं युवाले बार्षिक सयौं अर्ब रुपैयाँ रेमिट्यान्स पठाउने गरेका छन् । हामीजस्ता युवाहरुले पठाएको रेमिट्यान्सले देशको खर्च धानेको छ । यस्तो अवस्थामा सरकारले हाम्रो बारेमा अलिकति त सोच्नुपथ्र्यो । दुुवै कुरामा छुट दिन नसके पनि कम्तिमा एउटामा छुट गरिदिए हामी जस्ता लाखौंको दुखेको घाउमा मलम लगाएजस्तो हुन्थ्यो । खल्तीमा एक रुपैयाँ पनि नभएको अवस्थामा पाँच तारे होटलमा कसरी बस्नु ?

त्यस्तै विदेशबाट विमानमार्फत आउनेहरुको कोरोना मापन गर्ने तरिका पनि ठिक भएन । यस्ताहरुको थर्मल स्क्रीनिङ भन्दा डाइरेक्ट स्वाब लिने र १४ दिन पर्खिनुको सट्टा २ दिनमा काम सकेर घर पठाउनु वा क्वारेन्टिनमा राख्नु उपयुक्त विधि हो ।

(ढकाल दुबईस्थित एक ट्रेडिङ कम्पनीमा म्यानेजर छन्)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here