सबैं वर्गका बैंक नियमित समयमै खोल्न निर्देशन, सेवाग्राहीको चाप बढे दुई सिफ्ट

काठमाडौं, ३२ जेठ । नेपाल राष्ट्र बैंक नियमन विभागले असार १ गतेबाट साविक अनुसार नै नियमित समयमा बैंक तथा वित्तीय संस्था खोल्न निर्देशन दिएको छ ।

एक सूचना जारी गर्दै सोमबारबाट साविकको कार्यालय समय बमोजिम नै बैंक तथा वित्तीय संस्थाको सेवा सुचारु गर्न निर्देशन दिएको हो । बढी भीडभाड हुने शाखा तथा कार्यालयहरुमा मात्र आवश्यकता हेरेर दुई सिफ्टमा सञ्चालन गर्न भनिएको छ ।

भीडभाड नहुने बैंक तथा वित्तीय संस्थाहरु उनीहरुका शाखा भने साविककै समयमा खोल्न निर्देशन दिइएको हो । यस्तै, डिजिटल कारोबारलाई प्रोत्साहन गर्न पनि सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिइएको छ ।

यस्तै सेवाग्राहीको भिडभाड नहुने गरी लामबद्ध हुने गरी सेवा प्रदान गर्नुपर्ने तथा सेवाप्रवाह गर्दा प्रत्यक्ष सम्पर्कमा रहने कर्मचारी तथा सेवाग्राहीको स्वास्थ्य सुरक्षाका न्यूनतम उपायहरु अनिवार्य रुपमा अवलम्बन गर्नुपर्ने सूचनामा उल्लेख छ ।

जेठ २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले लक डाउन खुकुलो पार्दै वित्तीय संस्थाहरु २ दुई सिफ्ट अर्थात बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म खोल्ने निर्णय गरेको थियो ।

यसो गर्दा भीडभाड कम गर्न सहयोग पुग्ने सरकारको बुझाई छ । तथापि, यसको बैंकरहरुले भने विरोध गरेका थिए । सोमबारबाट कुन-कुन शाखामा दुई सिफ्टमा सेवा प्रदान गर्ने बैंकहरुले नै सुचना निकालेर जानकारी गराउने राष्ट्र बैंकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here