एनआइसी एशिया बैंकका ऋणीले ब्याज तथा नवीकरण शुल्कमा आकर्षक छुट पाउने

काठमाडौं, २ असार । एनआइसी एशिया बैंकले सम्पूर्ण ऋणीलाई ब्याज तथा नवीकरण शुल्कमा आकर्षक छुट दिने भएको छ ।

बैंकले कोरोनाका कारण ऋणीहरूमा परेको असरलाई मध्येनजर गर्दै किस्ता/ब्याज भुक्तानीमा १० प्रतिशत र नवीकरण शुल्कमा ०.२५ प्रतिशत छुट दिने भएको छ ।

कोरोना महामारीबाट यस बैंकका ऋणीहरूलाई परेको नकारात्मक असरको मूल्यांकन गर्दै उत्तरदायी बैंकिङ अभ्यासलाई थप मजबुत पार्दै बैंकले आफ्नै प्रयासबाट असार महिनाका लागि समेत ब्याज तथा नवीकरण शुल्क छुट दिने योजना ल्याएको हो ।

बैंकले नेपाल राष्ट्र बैंकले तोकेको २ प्रतिशत ब्याज छुट बाहेक बैंकबाट कर्जा सुविधा लिएका सम्पूर्ण ऋणीहरुले असार मसान्तसम्मको सम्पूर्ण साँवा तथा ब्याजको बक्यौता असार मसान्तसम्मा चुक्ता गरेमा कर्जाको विद्यमान ब्याजदरलाई कम गरी ९.९९ प्रतिशत कायम गर्ने भएको छ ।

यस्तै, साँवा तथा ब्याज चुक्ता भुक्तान गर्न ढिलाई गर्दा लाग्ने पेनाल चार्ज÷ब्याज र जरिवाना रकममा समेत शतप्रतिशत मिनाहाको व्यवस्था बैंकले गरेको छ । हाल ९.९९ प्रतिशत भन्दा कम ब्याजदरमा कर्जा उपभोग गरिरहेका ऋणीलाई भने विद्यमान व्यवस्था अनुसार नै ब्याजदर कायम रहनेछ ।

त्यसैगरी कर्जा नवीकरणको हकमा २०७७ आषाढ मसान्तसम्ममा नवीकरण गरिसक्नुपर्ने कर्जाहरूको असार महिना भित्रै नवीकरण गरेमा नवीकरण शुल्कमा ०.२५ प्रतिशत छुट प्रदान गरिने बैंकले जनाएको छ ।

यो सुविधा मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरूका साथै चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरूमा लगायत बैंकबाट प्रवाह भएका सम्पूर्ण क्षेत्रका कर्जाहरूमा लागू हुनेछ ।

बैंकले असारमहिनासम्ममा नवीकरण गर्नुपर्ने कर्जाहरूको हकमा कर्जा नवीकरण नभएको आधारमा कुनै पनि थप ब्याज, जरिवाना तथा शुल्क नलाग्ने व्यवस्था समेत गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here